जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार १९:३४

नेकपाले तोक्यो सदस्यता नविकरणको समयसीमा


काठमाडौं, भदौ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर महिनाभित्र सदस्यता नवीकरण टुंग्याउने निर्णय गरेको छ । लामो समयपछि आज बसेको उपाध्यक्ष बामदेव गौतम नेतृत्वको संगठन विभाग बैठकले स्थायी कमिटी बैठकबाट पारित प्रस्तावअनुसारको कार्ययोजना बनाएर मंसिर महिनाभित्र सदस्यता नवीकरणको काम टुंग्याउने निर्णय गरेको हो ।

गत शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले संगठन विभागको कार्ययोजनामा आगामी कात्तिक महिनाभित्र सम्बन्धित जिल्ला कमिटीहरुले पार्टीको संगठित सदस्ता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने, मङ्सीर महिनाभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार संगठन विभागले कार्ययोजना बनाएर नवीकरणको काम सक्ने मंसिरभित्र निर्णय लिएको हो ।

तत्कालीन एमालेका पाँच र माओवादीका तीन लाख गरी नेकपाले आफूसँग आठ लाख सदस्य रहेको दावी गर्दै आएको छ । तात्कालिन एमालेको संगठित सदस्यको बिवरण केन्द्रीय कार्यालयमै रहेको छ भने तात्कालिन माओवादीको सदस्यताको बिवरण हालसम्म छैन । हरेक जिल्लामा फरक फरक दावी प्रस्तुत हुँदै आएको छ । नेकपाले आगामी चैत २५ देखि ३० सम्म एकता महाधिवेशन काठमाडौमा गर्ने निर्णय गरिसकेको छ । महाधिवेशनको मिति नै तय भइसकेको कारण संगठन बिभागमा मंसिरभित्र सदस्यता नविकरणको अन्तिम टुंगो लगाउने योजना बनाएको हो ।

नेकपाले पार्टी एकताको भावना एवं मर्मअनुरुप सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने, महाधिवेशनसँग सम्बन्धित अन्य प्रक्रिया पार्टी विधान बमोजिम अवलम्बन गर्ने तथा महाधिवेशनबाट पार्टीका नीति, विचार, विधि, पद्धति एवम् नेतृत्व सुनिश्चित गर्ने र पार्टी एकतालाई सुदृढ तुल्याउने निर्णय गरिसकेको छ । आजको संगठन बिभाग बैठकले नेकपा प्रदेश २ अन्तर्गतका केही जिल्लामा रहेको विवाद १५ दिनभित्र हल गर्ने जिम्मा प्रमुख गौतम र उपप्रमुख जनार्दन शर्मालाई दिएको छ । ती जिल्लाहरुमा विवादका कारण झडपसमेत भएको थियो भने केही जिल्ला कमिटीको सपथसमेत हुन सकेको छैन ।

बैठकले संगठन बिभागको कामलाई थप चुस्त बनाउन ज्ञानबहादुर भुजेल र हेमराज भण्डारीलाई सदस्य बनाउने गरी पार्टी सचिवालयमा सिफारिस गर्ने निर्णय गरेको छ । भुलेल लामो समय तात्कालिन नेकपा एमालेको संगठन बिभागमा कार्यरत हुनुहुन्थ्यो । भुजेलको अभावमा काम अघि बढाउन कठिनाइ हुने भएपछि सदस्यमा मनोनीत गर्न सिफारिश गरिएको हो ।