जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार १७:४२

एजेण्डामै परेन कुलमानको नियुक्ति, यस्तो छ कारण


काठमाडौं, भदौ २९ । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः नियुक्तिका लागि चारैतिरबाट दवाव सिर्जना गरिरहनु भएका कुलमान घिसिङको बिषय मन्त्रिपरिषद बैठकको एजेण्डामै नपरेको पाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको आजको बैठकको कार्यसूचीमा नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको बिषय नरहेको एक मन्त्रीले जनताटाइम्सलाई बताए । ती मन्त्रीका अनुसार उर्जामन्त्री बर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको बिषय प्राधिकरणको नियमअनुसार हुने भन्दै मन्त्रालय अहिले नै प्रस्ताव ल्याउने पक्षमा नरहेको जानकारी बैठकअघि मन्त्रीहरुलाई गराउनु भएको छ ।

‘पैसा बाँडेर मिडियामा समाचार लेखाउँदैमा दवावमा परेर कसैलाई नियुक्तिको प्रस्ताव आउँदैन, अहिले हतार छैन,’ मन्त्रीहरुलाई उर्जामन्त्री पुनको भनाई उधृत गर्दै ती मन्त्रीले जनताटाइम्ससँग भने । उनका अनुसार कार्यकारी निर्देशक हुँदा घिसिङले पटक–पटक आफूलाई ढाँटेको र कतिपय सार्वजनिक कार्यक्रममै अपमान गरेको भन्दै पुनले ‘बदमास’ लाई फेरि नियुक्ति हुन्न भन्ने अडान लिनुभएको छ । सोही कारण उहाँले मन्त्रालयबाट नियुक्तिको प्रस्ताव नै नपठाउनु भएको हो ।

मन्त्री पुनले बिद्युत प्राधिकरणको बार्षिकोत्सवको अवसरमा आफू निकट मिडियालाई लाखौं बाँडेर घिसिङले फेरि नियुक्तिको पक्षमा समाचार लेख्न लगाएरु सरकारमाथि दवाव दिएको आरोप समेत लगाउनु भएको छ । ‘सरकारलाई सघाउनेलाई पुर्णत निषेध गरी आफ्नो पक्षमा भजन गाउनेलाई अन्दाधुन्ध बिज्ञापनको नाममा पैसा बाँडिएको भन्दै उर्जा मन्त्रालयले बार्षिकोत्सवको पर्सिपल्टै घिसिङसँग आपत्ति जनाएको थियो ।

प्राधिकरणको बार्षिकोत्सवमा मागेजति रकमको बिज्ञापन पाउने अनलाइनहरु अहिले पनि घिसिङलाई नियुक्ति गर्नुपर्ने भन्दै दवाव दिइरहेको मन्त्री पुनको बुझाइ छ ।