जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार १०:२१

१४ महिनापछि खुल्यो रहस्य – प्रेमीसँग मिलेर पतिको हत्या


नवलपरासी, ३० भदौ । प्रहरीले हत्या आरोपमा घटनाको १४ महिनापछि गैंडाकोटका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैंडाकोट–१८ हुर्चिलका फूलमाया सुगरपार्क र मेखबहादुर सुनारी छन् । फूलमायाले प्रेमी सुनारीसँग मिलेर पति धनबहादुर सुगरपार्कको हत्या गरेकी हुन् ।

१४ महिनाअघि ४० वर्षीय धनबहादुर बेपत्ता भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । धनमायाको मेखबहादुरसँगको सम्बन्धबारे गाउँलेले सूचना दिएपछि उनीहरूमाथि निगरानी बढाएको प्रहरीले सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बयानमा फूलमायाले मेखबहादुरसँग मिलेर हत्या गरी शव गाडेको बताएकी छन् ।

सोही बयानका आधारमा प्रहरीले मंगलबार शव गाडेको स्थानमा खनेर अस्थिपञ्जर निकालेको छ । गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार उक्त अस्थिपञ्जर डीएनए परीक्षणका लागि अहिले चितवन अस्पताल लगिएको छ । हत्यापछि शव घरदेखि एक किलोमिटर टाढा सुन्दरी सामुदायिक वनमा गाडिएको हो । धनबहादुर र फूलमायाका दुई छोराछोरी छन् । प्रहरीका अनुसार धनबहादुरले अवैध सम्बन्धबारे थाहा पाएपछि फूलमाया र मेखबहादुरले उनको हत्या गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।