जनता टाइम्स

३१ भाद्र २०७७, बुधबार १२:१४

लोबुचे र मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमार काठमाडौंमा


काठमाडौै, भदौ ३१

कोरोना महामारीकै बीचमा नेपालका हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली काठमाडौं आईपुगेको छ । खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न राजकुमारसहित १८ जनाको टोली आज विहान काठमाडौं आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली ल्याएको उक्त विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको थियो । यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

आरोहणको जिम्मा लिने सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्‍मा शेर्पाका अनुसार, राजकुमार खलिफाको टोली ल्याएर आएको विमान एभ्रो विमान बुधबार नै बहराइन फर्किने छ । शेर्पाका अनुसार, यो टोली ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्ने छन । त्यसपछि यी १८ जना काठमाडौंबाट लुक्लासम्म हेलिकप्टर र जहाजबाट जानेछन् । त्यहाँबाट लोबुचे हिमालको आधार शिविरसम्म पदायात्रा गर्नेछन् ।

टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक छन् । पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीका अनुसार, यो टोलीले करिब २ महिना नेपाल बिताउने छ । दुइटा हिमाल आरोहण गरेपछि अर्को वर्षको वसन्तकालीन यामममा सगरमाथा आरोहण गर्ने टोलीको मुख्य लक्ष्य रहेको छ ।