जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार ११:२८

तरकारीमा कालोबजारी गर्ने विरुद्ध सरकारी एक्सन, कोटेश्वरबाट तीन व्यापारीको कारोबार रोक्का


काठमाडौं, असोज १

कोटेश्वर तरकारी बजारमा प्याज लुकाएर कालोबजारी गरिरहेका तीन व्यापारी कारवाहीमा परेका छन् । प्याजको अभाव भईरहेका बेला आलुको बोराले प्याज लुकाएर कारोबार गरिरहेका तीन जना व्यापारी कारवाहीमा परेका हुन् ।

काठमाडौं महानगरपालिकाको संयोजकत्वमा आज विहान कोटेश्वरको तरकारी बजारमा अनुगमन गरिएको थियो । अनुगमनमा आलुभित्र प्याज लुकाएर कालोबजारी गरिरहेका तीन व्यापारीको कारोबार रोक्का भएको छ । कोटेश्वरका तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको र उलक शब्जी भण्डारका सञ्चालक ज्योतीनाथ उलकले १३ बोरा प्याज लुकाएर राखेको भेटिएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिनुभयो ।

त्यस्तै, दुलाल आलु भण्डारका सञ्चालकले बिल बिजक जारी नगरी प्रतिकेजी ७० रूपैयाँले किनेको प्याज १ सय ४० देखि १ सय ५० मा बिक्री गरेको पाइएपछि तिनै जना व्यापारीको कारोबार रोक्का गरिएको छ । ‘अर्को निर्देशन जारी नभएसम्म तीनै जनाको कारोबार रोक्का गरिएको छ । अध्ययन अनुसन्धानको लागि ११ बजे विभागमा उपस्थित हुन भनिएको छ,’ उहाले भन्नुभयो ।

यसअघि बल्खु, कालिमाटी तरकारी बजारमा पनि यसैगरी कालोबजारी गरिरहेका आठ व्यापारी पक्राउ परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा व्यापारीले कालोबजारी शुरु गरेका थिए । जसका कारण उद्योगमन्त्री लेखराज भट्टसमेत आफै अनुगमनमा निस्कनु भएको थियो ।