जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १६:५६

जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व हुन : राष्ट्रपति


काठमाडौं, असोज ६ । राष्ट्रपति बिद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकविना लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताउनु भएको छ । प्रैस काउन्सिलको ५१औं स्थापना दिवसको अवसरमा आज राष्ट्रपति भवन शीतवनिवाशमा आयोजित पुरस्कार बितरण समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो धारणा राख्नुभएको हो ।

‘राज्यको चौथो अङ्गको रूपमा लिइने पत्रकारिता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम हो । अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकविना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व हुन,’ राष्ट्रपति भण्डारीले भन्नुभयो ।

राष्ट्रपति सम्बोधनको पूर्ण पाठ

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रेस काउन्सिल नेपालको ५१औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह–२०७७ का अवसरमा गर्नुभएको सम्बोधन
राष्ट्रपति भवन, काठमाडौँ
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्री किशोर श्रेष्ठ,
नेपाल पत्रकार महासङ्घका अध्यक्ष,
सञ्चारकर्मीहरू,
आज पुरस्कृत हुने व्यक्तित्वहरू,
राष्ट्रसेवकहरू,
भद्रमहिला तथा सज्जन वृन्द !

प्रेस काउन्सिल नेपालको ५१औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस समारोहमा यहाँ उपस्थित सबैलाई स्वागत गर्दै काउन्सिल परिवारलाई हार्दिक शुभकामना दिन चाहन्छु । यस अवसरमा प्रेस काउन्सिल स्थापना गर्न र संस्थालाई आजको अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सबैलाई धन्यवाद दिँदै आज पुरस्कृत हुनुभएका वरिष्ठ पत्रकार श्री हिरण्यलाल श्रेष्ठ, श्री शम्भु श्रेष्ठ र श्री अमित ढकालसहित सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

‘राज्यको चौथो अङ्ग’को रूपमा लिइने पत्रकारिता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम हो । अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकविना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व हुन ।
आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्दछ भन्ने मैले ठानेको छु । अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी तथ्यहीन र झूठा समाचार एवं भ्रामक विचारहरू कतिपय सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोमा प्रेस काउन्सिलको ध्यान गएकै होला भन्ने लागेको छ ।

सूचना र संचारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ । नेपालको सन्दर्भमा यस चुनौतिको सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ । यसका लागि आफ्नो क्षेत्रमा आधुनिक सूचना तथा सञ्चार प्रविधिमैत्री पूर्वाधारको विकास गर्न पनि आमसञ्चार जगत अग्रसर हुनु पर्दछ ।

पत्रकारितालाई जिम्मेवार बनाउँदै जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षणका लागि प्रेस काउन्सिल नेपालले सञ्चार क्षेत्रको अनुगमन र अनुसन्धानका साथै आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र पत्रकारको पहिचान गरी कानुनी कारवाहीका लागि गरेको प्रयास सराहनीय छ ।

यस वर्ष विश्वभरिका सञ्चारमाध्यम र सञ्चारकर्मी समेत कोभिड–१९ को महामारीबाट पीडित हुनुपरिरहेकोमा मलाई दुःख लागेको छ । म नेपालका पत्रकारहरूले सामना गर्नुपरेको चुनौतीका बारेमा जानकार नै छु । यस्तो जोखिमपूर्ण परिस्थितिमा पनि पत्रकारहरू समाचार सम्प्रेषण गर्न खटिनुभयो र अझै खटिइरहनु भएको छ । प्रतिकूल परिस्थितिमा समेत अबिचलित रूपमा पेशाप्रतिको दायित्व बहन गर्ने पत्रकारिता क्षेत्रको म उच्च मूल्याङ्कन गर्दछु । यस सन्दर्भमा पत्रकारहरू स्वयं पनि कोरोनाबाट संक्रमित हुनुभएको छ । म उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

स्वतन्त्रता र चेतनाको संवाहकको रूपमा रहेको प्रेसको निब परपीडक हुनु हुँदैन । आमसञ्चार जगतले जनताको सुख, शान्ति र समृद्धिको यात्रामा सधैँ टेवा पुर्याउनु पर्दछ ।

मुलुक समृद्धिको यात्रामा अग्रसर बनेको छ । यस परिवेशमा राष्ट्रको यस साझा संकल्पलाई साकार तुल्याउन भौतिक पूर्वाधार विकासलाई उत्प्रेरित गर्न आमसञ्चार जगतले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्दछ । जलवायु परिवर्तनका कारण उत्पन्न भएका समस्या उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पुर्याउन पत्रकारिता महत्वपूर्ण माध्यम बन्नु पर्दछ । यसैगरी खाद्य सुरक्षा, सरसफाई तथा स्वच्छ पिउने पानी, गुणस्तरीय शिक्षा र जनस्वास्थ्य प्रवद्र्धनका विषयमा सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गराउनु पर्दछ । सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माण गर्न विभिन्न प्रकारका कुप्रथा, विकृति एवं विसंगतिहरू अन्त्यका लागि चेतना तथा जागरण अभिवृद्धि गर्नु पर्दछ ।

अन्तमा, लोकतन्त्रको निरन्तर अभ्यासको क्रममा आमसञ्चारको क्षेत्रमा देखिएका कतिपय कमी कमजोरीहरू क्रमशः हट्दै जानेछन् भन्ने आशा गरेको छु । सबै पत्रकारहरूले पत्रकार आचारसंहिता पालना गर्ने अपेक्षासहित आज पुरस्कृत र सम्मानित हुनु हुने सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद !

२०७७ साल असोज ६ गते सोमबार ।