जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १२:५४

बलिउड अभिनेत्री पूनमको श्रीमान् विरुद्ध उजुरी


मुम्बई, असोज ९

बलिउड अभिनेत्री तथा मोडल पूनम पाण्डेले श्रीमान्विरुद्ध उजुरी गर्नुभएको छ । उहाँले सेम्टेम्बर १० मा साम बम्बेसँग बिहे गर्नुभएको थियो । उहाँहरु बिहेपछि हनिमुन मनाउन गोवा पुग्नुभएको थियो । तर, आफ्ना श्रीमानले आफूलाई दुव्र्यवहार गर्दै धम्की दिएको भन्दै पूनमले मंगलबार गोवा प्रहरीमा उजुरी दिनुभएको हो ।

पूनमको उजुरीपछि प्रहरीले सामलाई पक्राउ गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार, दक्षिण गोवाको क्यानाकोन भन्ने गाउँमा पूनम आफ्नो नयाँ चलचित्रको छायांकन पनि गरिरहनुभएको थियो ।

पूनमले सोमबार बेलुकी प्रहरीमा दिएको उजुरीमा सामले उहाँलाई कुटेको र गम्भिर परिणाम भोग्ने धम्की दिएको उल्लेख छ । प्रहरीले पूनमको मेडिकल टेस्ट गर्ने जनाएको छ । मुम्बईमा १० सेम्टेम्बरमा यी दुबै जनाले बिहेको घोषणा गर्दै सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्नुभएको थियो । हाल सामाजिक सञ्जालबाट बिहेका तस्बिर समेत हटाएका छन् ।