जनता टाइम्स

१० आश्विन २०७७, शनिबार ०६:४२

आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्लीको दोस्रो जित


काठमाडौं, १० असोज । इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको हो । चेन्नईले लगातार दोस्रो हार बेहोरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनायो । बलियो सुरुवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरे ।शिखर धवन २७ बलमा ३५ रन बनाएर आउट भए । पृथ्वी शाले ४३ बलमा ६४ रन जोडे । ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रनको साझेदारी गरे । चेन्नईका पिउस चावलाले २ विकेट लिए । जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको चेन्नईले निर्धारीत २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो ।
चेन्नईका सेन वाट्सन १४ र मुरली विजय १० रनमा आउट भए । चेन्नईले ४४ रनमा तेस्रो, ९८ रनमा चौथो र एक सय १३ रनमा पाँचौ विकेट गुमायो । टिमका कप्तान महेन्द्रसिंह धोनी १५ रनमा आउट भए । दिल्लीका कागिसो राबाडाले तीन विकेट लिए । यो जितसँगै दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ ।