जनता टाइम्स

२३ आश्विन २०७७, शुक्रबार ०९:५७

रवीन्द्र मिश्रलाई झड्का, पौडेल र अर्यालले छाडे साझा पार्टी


काठमाडौँ,  असोज २३।  साझा पार्टीका दुई जना केन्द्रीय सदस्यले पार्टी छाडेका छन्। केन्द्रीय सदस्य मानवी पौडेल र सिद्धि अर्याल पार्टी छाड्नु भएको हो । पार्टी स्थापनादेखि नै सक्रिय निकै पौडेल बिहीबारदेखि पार्टीबाट अलग हुनुभएको बताउनु भएको छ । उहाले केही समयअघि पार्टीलाई साधारण सदस्य र केन्द्रीय सदस्य नरहने जानकारी गराउनु भएको थियो । केन्द्रीय समिति पुनर्गठनका दिन उहा अलगिनु भएको हो । साझा पार्टीले बिहीबार ३७ केन्द्रीय सदस्य थपेको छ ।

पौडेलले पार्टी भित्र असन्तुष्टि नरहेको दाबी गर्दै बाहिरै रहेर पार्टीलाई सहयोग सकिने बताउनुभयो । ‘पार्टी छाड्नुमा त्यस्तो केही कारण छैन। पार्टीमा नयाँ सदस्य थपिँदै हुनुहुन्छ। पार्टी राम्रो बन्दै छ। नयाँ साथीहरूलाई पनि अवसर दिनुपर्‍यो ,’ उहाले भन्नुभयो ‘बाहिरै बसेर पार्टीलाई सहयोग गर्छु। आफ्नो करिअरमा पनि केन्द्रीत हुनुपर्नेछ।’ त्यसैले अलगिने सोच बनाए ।

साझाका अर्का केन्द्रीय सदस्य अर्यालले आफूले थोरै समय पार्टीमा केन्द्रीय सदस्यका रूपमा काम गरेको उल्लेख गर्नुभएको छ । ‘साझाको पुनर्गठित केन्द्रिय समितिलाई मेरो हृदयदेखी शुभकामना छ ।

तपाईंहरुसँग विधिले निर्दिष्ट गर्ने राजनीतिको यात्रामा केन्द्रिय सदस्यका रुपमा थोरै समय काम गर्दा संगालेका अनुभव सदैव मेरा सम्झनामा रहनेछन्,’ उहाले सामाजिक संजालमा लेख्नुभएको छ , ‘परिस्थितिवश भौगोलिक रूपमा हालसँगै नरहे पनि तथा केन्द्रिय सदस्य नरहे पनि संगठीत विकल्पका लागि मबाट हुन सक्ने सहयोग गरि नै रहनेछु।’ अर्याल विदेशमा हुनुहुन्छ । साझाका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले गत असारमा पार्टी छाड्नु भएको थियो । उहाहरू दुवैले संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीय टिमसँग मतभिन्नता राख्दै आउनु भएको थियो ।