जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १३:४८

प्रहरी कार्यालयमै इन्सपेक्टरलाई घुस दिन लाग्दा अख्तियारको फन्दामा परे युवक


काठमाडौं, जेठ १६

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्दा झापाका अभिषेक कार्कीलाई बुधबार साँझ आयोगको टोलीले पक्राउ गरेको हो ।

कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा उनका भाइ पुजन बम ठकुरीले चाउचाउको खोलभित्र लागुऔषध ल्याएको भेट्टाएपछि प्रहरीले बमलाई पक्राउ गरेपछि कार्कीले घुस अफर गरेका थिए । सो घटना मिलाइदिनुपर्यो भन्दै कार्कीले प्रहरी निरीक्षकलाई १० हजार रुपैया दिन खोज्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

अख्तियारका अनुसार कार्कीले प्रहरीलाई घटना मिलाइ दिन ४० हजार अफर गर्दै तत्काल १० हजार रुपैया दिन लागेका थिए । उनले सो रकम दिँदादिँदै पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । अख्तियारको टोलीले कार्कीको साथबाट एक लाख २० हजार नगदसमेत बरामद गरेको छ ।

थानकोट वृत्तले यसअघि पनि घुस दिन खोज्ने चार जनालाई पक्राउ गरिसकेको छ । प्रहरी कार्यालयमा बिचौलिया जाने गरेको सूचना पाएपछि अख्तियारले हरेक कार्यालयमा निगरानी गर्दै आएको छ । प्रहरी नेतृत्वले समेत बिचौलियालाई कार्यालयमा प्रवेश तथा घुसमा कडाई गरेपछि अभियुक्तहरु पक्राउ पर्न थालेका छन ।