जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार २०:०४

मन्त्री छान्दा ओली–प्रचण्डबीच भएको त्यो सहमति


काठमाडौं, असोज २९ । मन्त्रिपरिषद बिस्तारलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्षसहित शीर्ष नेता असन्तुष्ट भन्ने समाचार बाहिर आयो ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट पठाएको नाम शीतलनिवाशबाट सार्वजनिक भएसँगै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको सचिवालयको नाममा उहाँसँग सल्लाहनै नगरी मन्त्री छानिएको भन्दै सुनामीको गतिमा समाचार फैलियो । समाचारसँगै जनताटाइम्सले यस्तो बास्तविकता खोज्दा तथ्य भने अर्कै फेला परेको छ । प्रचण्डको सचिवालयको नाममा आएको असन्तुष्टिबारे स्वयं अध्यक्ष प्रचण्ड नै अनबिज्ञ रहेको पाइएको छ ।

प्रधानमन्त्री ओलीले बुधवार तीन जना मन्त्री नियुक्त र केही मन्त्रीको जिम्मेवारी हेरफेरबारे कार्यकारी अध्यक्ष प्रचण्डसँग छलफल गरी उहाँको समेत सहमतिमै अर्थमन्त्रीमा पार्टी महासचिव बिष्णु पौडेलको नाम टुंगो लगाउनु भएको पाइएको छ । छलफलको क्रममा अध्यक्ष प्रचण्डले नै महासचिव पौडेलको नाम त फाइनल भइसकेको होइन र भन्नेसम्मको जिज्ञासा प्रधानमन्त्रीसँग राख्नुभएको स्रोतले जनताटाइम्सलाई बतायो । अध्यक्षद्वय ओली र प्रचण्डको संवाद उधृत गर्दै स्रोतले जनताटाइम्ससँग भन्यो, ‘अर्थमा बिष्णुजीको टुंगो भइसकेको होइन र ? म त उहाँको नाममा सहमत नै हो त ।’

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले यस्तो भनाई राखेर महासचिव पौडेलको नाममा सहमति दिएपछि मात्रै प्रधानमन्त्री ओलीले बुधवार उहाँसहित तीन जना मन्त्रीको नाम टुंग्याउनु भएको थियो । यसअघि दुई अध्यक्षबीच महासचिव पौडेलसहित स्थायी कमिटीका सदस्यद्वय सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई रिक्त मन्त्रालयमा पठाउने लगभग सहमति भएपनि दुवै नेताले रोजेको मन्त्रालयबाहेक अन्यत्र नजाने अडान राखेपछि प्रधानमन्त्री ओलीले पार्टीमा काम गरेर सधै अन्यायमा परिरहेका दुई पात्र छान्नुभएको स्रोतले बतायो । स्रोतका अनुसार नेता पाण्डेले अर्थबाहेक अर्काे मन्त्रालयमा जाँदै नजाने कडा बटमलाइन सुनाउनु भयो भने शर्माले शहरी बिकाशमा जाँदै नजाने अडान राख्नुभयो ।

अर्थमन्त्रीमा आफ्नोसँगै कार्यकारी अध्यक्षसमेत पौडेलकै पक्षमा रहेपछि प्रधानमन्त्री ओलीले मदन भण्डारीको पालादेखि उपत्यकामा आन्दोलनमा शतिसाल झै भिडनुभएका कृष्णगोपाल श्रेष्ठ र पञ्चायकालदेखि आन्दोलनमा होमिएको र पार्टी अनुशासनको नाममा सधैव दवाइएका लिला श्रेष्ठलाई मन्त्री बनाउने निर्णय लिनुभएको स्रोतले बतायो ।

अध्यक्षद्वय ओली र प्रचण्डको संवाद उधृत गर्दै स्रोतले भन्यो, ‘अर्थमा बिष्णुजीको टुंगो भइसकेको होइन र ? म त उहाँको नाममा सहमत नै हो त’

सिरहाका नेता श्रेष्ठ दोस्रो संबिधानसभामा हालका नेकपाका अध्यक्ष प्रचण्डसँगै चुनाव लडनु भएको र सात दिनसम्म मतगणना नगरी जवजस्र्ती हराइएका नेतासमेत हुनुहुन्छ । त्यसबेला नेकपा एमालेका तात्कालिन अध्यक्ष तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालसहित अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगले धाँधली गरी श्रेष्ठलाई चुनाव हराएको सार्वजनिक घोषणा गर्नुभएको थियो । यद्यपी तात्कालिन समयमा नेकपाले बिशेष मुद्दा बनाएन ।

अहिले प्रधानमन्त्री ओलीले निरन्तर योगदान तर कहिल्यै अवसर नपाएको त्यागी नेताका रुपमा मन्त्री चयन गर्नुभएको उहाँ निकट एक नेताले जनताटाइम्सलाई बताए । स्रोतका अनुसार बुधवारको छलफलमा अध्यक्ष प्रचण्डले समग्रमा एकैपटक पुनर्गठन गर्नुपर्ने सुझाव दिनुभएको थियो । तर छनोट गरिएका अर्थमन्त्री पौडेलसहित तीनै जनाको नाममा भने आपत्ति जनाउनु भएको थिएन । कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग अलिक समय लिएर एकै पटक टुंग्याउन भनेको तर तपाई रिक्त मन्त्री मात्रै गर्नुहुन्छ भने मेरो केही छैन भन्दै सहमति जनाएर नै बालुवाटारबाट खुसीसाथ बाहिरिनु भएको थियो ।