जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार ०९:४७

गैर व्यावसायिक आचरण र कुनै पनि अपारदर्शी गतिविधि सह्य हुन सक्दैन : आइजीपी थापा


काठमाडौं, असोज ३० । प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले चुनौतीसँग जुध्ने र अन्याय, अपराधलाई निर्मूल पार्ने सामर्थ्य प्रहरीमा भएको बताउनु भएको छ । विगतका त्यही सौर्य गाथाले भरिपूर्ण संगठन, व्यावसायिक निष्ठावान् सदस्यहरूको समर्पण भावले नेपाल प्रहरीको गरिमा चुलिएको बताउँदै आइजीपी थापाले त्यस गरिमालाई जोगाउन प्रहरी कर्मचारीले निःस्वार्थ योगदान दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

६५ औं प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै उहाँले स्वदेश तथा विदेशमा रहेका प्रहरी अधिकृत तथा जवानलाई व्यावसायिक सफलता, पारिवारिक सुख एवं सुखद् भविष्यको कामना गर्नुभएको छ । उहाँले सेवा निवृत्त अग्रज, अन्य प्रहरी कर्मचारीहरू, प्रहरी परिवार, अमर तथा शहीद प्रहरीका परिवारजनमा समेत शुभकामना व्यक्त गर्नुभएको छ ।

कानूनको निष्पक्ष कार्यान्वयन सम्झौता विहीन विषय भएकाले न्याय र सुरक्षाको प्रत्याभूत गर्ने पनि उहाँले प्रष्ट पार्नुभएको छ । ‘गैर व्यावसायिक आचरण व्यवहार र कुनै पनि अपारदर्शी गतिविधि सह्य हुन नसक्ने पक्ष हुन्, यी पक्षहरूको अभावमा मात्र हाम्रा सेवाहरू जनमुखी, पारदर्शी र स्वच्छ हुनेछन,’ आइजीपी थापाले सन्देशमा भन्नुभएको छ, ‘सोही जगमा प्रहरीले जन विश्वास आर्जन गर्न सक्ने हुँदा यसतर्फ संवेदनशील रहन म सकल दर्जाका प्रहरी कर्मचारीलाई निर्देश गर्दछु।’ परिवर्तनहरूलाई आत्मसात् गर्दै रूपान्तरणका लागि प्रहरी तत्पर रहने धारणा राखेका छन्।

‘मातृभूमिका सेवाका खातिर प्राण उत्सर्ग गर्ने वीर तथा अमर प्रहरीको बलिदानको उच्च सम्मान गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ आइजीपी थापाले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘कर्तव्यपालनाको सिलसिलामा शारीरिक एवं मानसिक क्षति बेहोर्नु भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’