जनता टाइम्स

५ कार्तिक २०७७, बुधबार १३:०७

गण्डकी प्रदेशले पनि गर्यो जनपक्षीय निर्णय : मुख्यमन्त्री र मन्त्रीको भत्ता कोरोना कोषमा


पोखरा, कात्तिक ५

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले यसपालिको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । केन्द्रीय सरकारले निर्णय गरेको केही दिनपछि गण्डकी प्रदेश सरकारले पनि त्यसको अनुसरण गर्दै कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित सात मन्त्रीको दसैंभत्ता कोभिड–१९ उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

एक महिनाको पारिश्रमिकबराबर आउने भत्ता विगतका दसैंमा पनि मुख्यमन्त्री तथा मन्त्रीहरूले सरकारकै कोषमा जम्मा गरेका थिए । यसै गरी बैठकले प्रदेश सरकारले गर्दै आएको कोरोना संक्रमितको उपचार र व्यवस्थापनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकले दसैंतिहारलगायत चाडपर्व मनाउँदा सामाजिक दुरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्नसमेत आग्रह गरेको छ । साथै भ्रमपूर्ण समाचारका पछाडी नलाग्न पनि सरकारले आग्रह गरेको छ ।