जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार ०९:१०

कर्मचारीसँगै बढ्यो सांसददेखि राष्ट्रपतिसम्मको तलव : कस्को कति पुग्यो ?


काठमाडौं, जेठ १७

सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार संघीय संसदमा सार्वजनिक गर्नुभएको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरेसँग सांसददेखि राष्ट्रपतिसम्मकोतलव पनि बढेको हो ।

कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन । बजेटअनुसार अव राष्ट्रपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुग्नेछ। सांसदको तलब वृद्धिसँगै मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको तलब वृद्धि हुने छ । संघीय सांसदको मासिक पारि श्रमिक हाल ५५ हजार २ सय ३० रुपैयाँ छ।

मुख्य सचिवको तलब ५४ हजार ५ सय ८८ छ। मुख्य सचिवको १८ प्रतिशत तलब वृद्धि हुँदा ६४ हजार ४ सय १४ पुगेको छ। संसद् सचिवालयका अनुसार संघीय सांसदको पारि श्रमिक पनि १८ प्रतिशतले वृद्धि हुँदा ६५ हजार १ सय ७२ पुग्नेछ। सांसदको तलब ९ हजार ९ सय ४१ रुपैयाँले प्रतिमहिना वृद्धि हुनेछ।

सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष र संसदीय समितिका सभापतिको तलब पनि १८ प्रतिशत बढेको छ। सांसददेखि भीभीआईपीको तलब एकैपटक बढ्दा राज्यकोषमा ठूलो असर पुग्ने छ। संघीय सांसदको पारिश्रमिक वृद्धिसँगै प्रदेशसभाका सांसदको पनि तलब बढ्नेछ। सांसदको तलबवृद्धिसँगै मन्त्रीहरुको तलब पनि बढेको छ। मन्त्रीहरुको तलब हाल ६० हजार ९ सय ७० रुपैयाँ छ। १८ प्रतिशत वृद्धिसँगै मन्त्रीको तलब ७१ हजार ९ सय ४५ पुग्नेछ।

यस्तै उपप्रधानमन्त्रीको हाल कायम ६५ हजार २ सय तलबमा १८ प्रतिशत वृद्धि भई ७६ हजार ९ सय ३६ पुग्ने अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। यस्तै प्रधानमन्त्रीको तलबमा १३ हजार ९ सय १० वृद्धि भएको छ। प्रधानमन्त्रीको तलब हाल ७७ हजार २ सय ८० रहेको छ। वृद्धिसँगै प्रधानमन्त्रीको तलब ९१ हजार १ सय ९० पुगेको छ। आगामी साउनदेखि राष्ट्रपति र उपराष्ट्रपतिको तलब पनि १८ प्रतिशतले बढेको छ।

राष्ट्रपतिको हाल १ लाख ५० हजार ४ सय ५० रुपैयाँ तलब छ। २७ हजार ८१ रुपैयाँ वृद्धि हुँदा राष्ट्रिपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ पुग्नेछ। यस्तै उपराष्ट्रपतिको १ लाख ८ हजार ३० रुपैयाँ तलबमा १९ हजार ४ सय ४५ रुपैयाँ वृद्धि हुँदा १ लाख २७ हजार ४ सय ७५ रुपैयाँ पुग्नेछ।