जनता टाइम्स

६ कार्तिक २०७७, बिहीबार १५:४०

दशैंको बेला यात्रुलाई ठग्दै सार्वजनिक यातायात, सरकारको नियम लत्याउँदै ५०% बढी भाडा अशुल्दै


सर्लाही, कात्तिक ६

प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले दशैँको बेला सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लंघन गर्दै यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेको छ । त्यस्ता सवारी साधनमा भाडादर नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्ड पनि पालना नगरेको र भाडामा थप ५० प्रतिशत वृद्धि गरेर लिएको वीरगन्ज–जनकपुर चल्ने बसमा सवार यात्रु कबिर महतोले बताउनुभयो ।

अनुगमन गर्ने सम्बन्धित निकाय कानमा तेल हालेर निदाइरहेको उहाँको आरोप थियो । यसक्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्मले स्वास्थ्य मापदण्डको पालना नगरी यात्रा गरेपनि नियमनकारी निकायहरूले खासै वास्ता नगर्ने गरेको यात्रु महतोको भनाइ थियो । मन लागेको समयमा ट्राफिक प्रहरीले सवारी साधन रोकेर यात्रुका गुनासो सुने जस्तो गरेपनि समस्या समाधानमा कसैको ध्यान नपुगेको अर्का यात्रु प्रकाश पोख्रेलले बताउनुभयो ।

नेपालीको महान चाड बडादशैँ सुरु भएकाले मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको माग अनुसार सिट क्षमताअनुसार नै यात्रुुहरू राख्न पाउने र पुरानै भाडादर २०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर कायम हुने निर्णय भएको जनाएको थियो । तर, सरकारको निणर्यलाई भने यातायात व्यावसायीहरूले बेवास्था गरेर थप ५० प्रतिशत भाडा असुलिरहेका हुन् ।

आफूहरूले सवारी साधनको जाँचलाई निरन्तरता दिएको, यात्रुका समस्या समाधानका लागि प्रदेशअन्तर्गत सबै जिल्लाका सबै स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको, ट्राफिक नीयम विपरित चल्ने सवारी साधनहरूलाई ट्राफिक नीयमानुसार कारबाही गरेको पथलैयास्थित २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरीप्रमुख तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।

उहाँका अनुसार यात्रुहरूले वास्तविक समस्या नसुनाएका कारण पनि समस्या आएको तर गुनासो आएलगतै कारबाही गर्ने गरिएको छ । लामो समयसम्म थन्किएर बस्नुपरेकाले आफ्ना व्यवसाय फष्टाउन नसकेका कारण पनि यात्रुहरूले खुसीले भाडा दिने गरेको यातायात व्यावसायीसमेत रहेका सवारी चालक विनोद साहले बताउनुभयो ।

साथै यात्रुहरूले पनि ट्राफिक प्रहरीले भाडाको विषयमा सोध्दा आफूहरूलाई बचाउने गरेको साहको भनाइ थियो । प्रदेश नं २ का आठवटै जिल्लाका पूर्व–पश्चिम लोकमार्ग, भित्री सडक खण्ड, सिमानाका गरी ७९ ट्राफिक प्रहरी युनिट रहेका र प्रदेश प्रदेश नं २ मा मात्र २४४ पूर्व–पश्चिम लोकमार्ग पर्दछ ।