जनता टाइम्स

७ कार्तिक २०७७, शुक्रबार १६:१९

चामेका दलितहरुलाई राहत तथा खाद्यान्न वितरण


मनाङ, कात्तिक ७

मनाङ चामेका ४१ घरधुरीका दलितहरुलाई राहत वितरण गरिएको छ । देशभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको र चाडपर्वमा दैनिक काम गरेर खान कठिन भएकाहरुलाई विदेशमा रहेका नेपालीहरुले सहयोग गरेर यहाँका स्थानीय दलितहरुलाई खाद्यान्न लगायतका सामान हस्तान्तरण गरिएको हो । मनाङबाट अमेरिकामा बसोबास गर्ने समाजसेवीहरुले यो सहयोग गरेका हुन ।

मनाङको चामे गाउँपालिका निवासी हाल अमेरिकामा बसोबास गर्ने घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष तथा नेपाल आदीवासी जनजाति महासंघ अमेरिका (फिप्ना) की पूर्व उपाध्यक्ष नीमा ल्हमो लामा, नासों गाउँपालिका वडा नम्बर–५ स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्ने घ्याल्सुम्दो सेवा संस्थाको पूर्व अध्यक्ष तथा जिपी कोईराला फाउण्डेसन अमेरिकाका केन्द्रिय सदस्य सामाजिक अभियन्ता छिरिङ राप्के लामा, नासों ५ घर भई अमेरिकामा बसोबास गर्ने घ्याल्सुम्दो सेवा संस्थाकी महासचिव तथा आदीवासी जनजाति महासंघ अमेरिका फिप्ना की कोषाध्यक्ष छिन्चोम लामाको व्यक्तिगत रुपमा आर्थिक संकलन गरी विपन्न तथा दलित परिवारलाई खाद्यन्न सामग्री वितरण गरिएको हो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला तदर्थ समिति मनाङका अध्यक्ष गम्भीरजङ बिश्वकर्मा र नेपाल प्रजातान्त्रिक महासंघ जिल्ला तदर्थ समिति मनाङका महासचिव धनबहादुर लामाको संयुक्त पहल यो राहत बितरण गरिएको थियो ।