जनता टाइम्स

७ कार्तिक २०७७, शुक्रबार २०:२६

प्रधानमन्त्रीको शुभकामना सन्देशमा चुच्चो हराएको भ्रमपूर्ण अफवाहमा आयो तथ्यसहितको प्रमाण


काठमाडौं, कात्तिक ७

प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको अवसर पारेर फुलपातीका दिन एक शुभकामना सन्देश दिनु भयो । शुभकामना सन्देशमा भनिएको छ, ‘२०७७ सालको बड दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।’ त्यसैगरी उहाले अंग्रेजी भाषामा पनि सोही प्रकारको शुभकामना दिनु भएको छ ।

शुभकामना सन्देशमा निशान छाप सबैभन्दा माथी रहेको छ । त्यसमा रहेको नेपालको नक्सामा चुच्चो नदेखिएको भन्दै आलोचना गरेका छन् । तर, प्रधानमन्त्रीको सचिवालयले त्यसविषयमा स्पष्ट पार्दै तथ्यसहित सो लोगो बनाइएको डिजाइन नै सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गंभीर ध्यानाकर्षण भएको बताउनु भएको छ । ‘नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वभाविक हो । यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु’, उहाले भन्नुभएको छ ।

यस्तो छ प्रेस सल्लाहकार थापाले जारी गर्नुभएको प्रेस नोट

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको उपलक्षमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गंभीर ध्यानाकर्षण भएको छ ।
नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वभाविक हो । यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु ।
लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो । तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम सम्माननीय प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय भएको छैन ।
अहिले यस विषयमा योजनबद्द रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ । त्यस्तो कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
७ कात्तिक २०७७