जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार १२:१५

आज राति चेल्सी र म्यानचेस्टर युनाइटेड भिड्दै


काठमाडौं, कात्तिक ८

प्रिमियर लिग फुटबलमा आज राति म्यानचेस्टर युनाइटेड र चेल्सी भिड्दै छन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुनेछ । दुवै टोली यो खेल जित्दै आफ्नो अंक तालिकामा सुधार गर्न चाहन्छन् । लिगका चार खेल खेलेको युनाइटेडले दुई खेलमा जित र दुईमा हारसहित ६ अंक जोड्दै तालिकाको १५औं स्थानमा छ ।

यता चेल्सीले लिगमा खेलेका पाँच खेल खेल्दा दुई खेलमा जित, दुई बराबरी र एकमा हारसहित ८ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । त्यसैले पनि यी दुवै टोली यो खेल जित्दै आफ्नो अंक तालिकामा सुधार ल्याउन चाहन्छन् । युनाइटेडका लागि पछिल्ला केही खेलमा लयमा देखिएका यूवा फरवार्ड मार्कुस रास्फोर्ड मुख्य हतिार हुनेछन् । त्यस्तै यसै सिजन फ्रेन्च लिग वान क्बल पीएसजीबाट आएका उरुग्वे फरवार्ड एडिन्सन काभानीले यस खेलमा डेब्यु गर्ने सम्भावना छ ।

चेल्सीका काई हाभर्ट र टिमो वेरनर मुख्य खेलाडी रहनेछन् । यर्स सिजन जर्मन क्लबबाट चेल्सी पुगेका वेरनरले साउथ ह्‍यामटनसँगको खेलमा प्रिमियर लिग डेब्यु गोल गर्नुभएको थियो । साउथ ह्‍यामटनसँग ३–३ को बराबरीमा रोकिएको खेलमा उहाँले दुई गोल गर्नुभएको थियो । तर, च्याम्पियन्स लिगको समूह चरणमा भने चेल्सी स्पेनिस ला लिगा क्लब सभियासँग गोलरहित बराबरीमा रोकिएको थियो । एजेन्सी