काठमाडौं, कात्तिक ८
दसैँ सुरु भए पनि यस वर्ष विगतको वर्षहरुमा जस्तै बजार क्षेत्रमा चहलपहल देखिएन । व्यापार पनि कम भएको व्यापारीहरुले बताउँदै आएका छन् । कोरोना संक्रमणको जोखिमका कारण मानिसहरु घरबाट किनमेलका लागि खासै बाहिर निस्किएका छैनन् । काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजारमा पनि खासै चहलपहल देखिएको छैन । भृकुटीमण्डपमा रहेको सस्तो बजार निम्न वर्गका लागि किनमेल गर्ने मुख्य थलो हो ।
तर यस वर्ष यो बजारमा खासै चहलपहल छैन । व्यापारीहरुले ग्राहक नआउँदा दुई÷तीन दिनमा एकपटक मात्रै बोहनी हुने गरेको बताउँछन् । कोभिड १९ संक्रमण जोखिम रोकथामका लागि लामो समय लकडाउन हुँदा मानिसहरुको आम्दानी गुमेको छ । खासगरी निम्न वर्गहरु यसबाट अझ बढी प्रभावित भएका छन् । त्यसैले पनि यो बजारमा आउने ग्राहकहरु यस वर्ष कम छन् । भृकुटीमण्डपको यो बजार असोज ३ गते यता निरन्तर खुल्दै आएको छ ।
दसैँका बेलामा पनि व्यापार कम भएपछि व्यापारीहरु चिन्तित देखिन्छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ७५ प्रतिशत व्यापार घटेको उनीहरुको भनाइ छ । सस्तो र राम्रो सामान पाउने भएकाले पनि यो बजारमा मानिसहरु किनमेलका लागि पुग्ने गर्छन् । यो बजारमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीहरु सस्तोमा पाउन सकिन्छ । तुलनात्मक रुपमा अन्य बजारमा भन्दा यो बजारमा निकै सस्तो र राम्रो समान पाउने भएकाले निम्न वर्गका लागि किनमेल गर्न उपयुक्त छ ।
बजारमा भेटिएका ग्राहकहरुले पनि राम्रो र सस्तो समान पाउने भएकाले आफूहरु किनमेलका लागि भृकुटीमण्डपमै आउने गरेको बताएका छन् । भृकुटीमण्डपको सस्तो बजार ठूलो पनि छ । अन्य बजारमा भन्दा तुलनात्मक रुपमा सस्तोमा समान पाउन सकिन्छ । त्यसैले पनि मानिसहरु यो बजारमा किनमेलका लागि आउने गर्छन् । तर यस वर्ष कोरोना महामारीका कारण मानिसहरुको क्रयशक्ति घटेकोले किनमेलका लागि आएको देखिँदैन । त्यसैले विगतका दसैँमा निकै भिड हुने यो बजार यसपटक सुनसान देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्