काठमाडौं, कात्तिक ८
सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको आरोपमा जुजुकाजी महर्जनलाई पक्राउ गरेको हो ।
शनिवार विहान उनको समुहले मस्जिद भत्काएको केही घण्टामै प्रहरीले पक्राउ गरेको हो । सय वर्ष भन्दा पुरानो यो मस्जिद भूमाफियाको तारो बन्ने गरेको बताइन्छ । महर्जनको समूहले मस्जिद भत्काएपछि घटनास्थल पुगेका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताउनु भयो । निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।
मस्जिद रहेको काठमाडौं महानगरपालिका–२२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सँधै मस्जिद खाली गर्न धम्क्याउने गरेको बताउनु भयो । मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाइ प्रयोग गरिरहेका छन् । सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ५ प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन् । यसैबीच डोजर लगाएर भत्काइएको मस्जिद परिसर पुनः निर्माण सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्