काठमाडौं, कात्तिक १० । बडादशैंको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले बताउनुभयो ।
“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद् प्राडा गौतमले भन्नुभयो ।
अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार नेपालमा आज १०ः१९ बजेको साइत उत्तम रहेको छ भने भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११ः०५, केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत उत्तम रहेको छ । यसैगरी बेलायतको लण्डनका लागि बिहान ११ः३९, क्यानडाको टोरन्टोका लागि बिहान ११ः४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११ः३७ र फ्रान्सको पेरिसका लागि बिहान ११ः४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी शहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ ।
यस्तै जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११ः३५, अष्ट्रेलियाको सिड्नीमा बिहान ०९ः४३, अष्ट्रेलियाकै मेलबर्न शहरमा बिहान ९ः५३ बजे, अष्ट्रेलियाकै ब्रिसबेनमा बिहान ९ः५१, मलेसियाको क्वालालम्पुरमा बिहान १०ः३५, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १०ः४३, कतारको दोहामा बिहान १०ः२१, थाइल्याण्डको बैङ्ककमा बिहान १०ः३३, दक्षिण कोरियाको सोलमा बिहान १०ः२७, इजरायलको तेल अभिभमा बिहान १०ः३७, सिङ्गापुरमा बिहान १०ः४१, हङकङमा बिहान १०ः४९, साउदी अरबमा बिहान १०ः२५, न्युजिल्याण्डको वेलिङ्टनमा बिहान १०ः१५ बजेको समयमा दशैँको टीका लगाउन उत्तम हुने जनाइएको छ । यी शहरमा पनि अक्टोबर २६ तारिखकै दिन विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।
यो पनि पढनोस
यस बर्षको बडादशैं टीका : नेपालसहित बिश्वका कुन शहरमा कतिबेला छ उत्तम साइत ? सूचीसहित
प्रतिक्रिया दिनुहोस्