जनता टाइम्स

१३ कार्तिक २०७७, बिहीबार ११:५७

वडाध्यक्षको दादागिरी : छोरी जिस्काएको भन्दै एक युवकलाई कुट्दै घुमाए गाँउ


बुटवल, कात्तिक १३

जनताका प्रतिनिधि भनेको कानुनका रक्षक हुन् । उनिहरुले संवैधानिक व्यवस्था अनुसार कानुनको रक्षा समेत गर्नुपर्ने हुन्छ । तर, रुपन्देहीका एक जनप्रतिनिधि भने कानुनको रक्षक होइन् आफ्नै हातमा कानुन लिएर उत्रिएका छन् ।

रुपन्देहीस्थित सम्मरीमाई गाउँपालिका–६ का वडाध्यक्ष सत्यनारायण केवटले छोरी जिस्काएको निहुँमा स्थानीय बब्लु केवटलाई चरम यातना दिदै गाउँ घुमाएको घटना सार्वजनिक भएको छ । वडाध्यक्ष केवटको नेतृत्वमा बुधबार बिहान २२ वर्षे केवटलाई कालोमोसो दलेर कुटपीट गर्दै गाउँसमेत डुलाइएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ ।

घटना बुधबारको हो । सत्यनारायणकी छोरीले बुधबार एउटा सानो बच्चा खेलाइरहेको अवस्थामा केवट त्यहा पुगेका थिए । बच्चा खेलाइरहेका बेला ती बच्चालाई आफूले म्वाइँ खाएको बब्लुले बताएका छन् । तर, सत्यनारायणकी छोरीले भने आफूलाई पनि उनले ‘किस’ गरेको आरोप लगाएकी छन् । यहीबाट घटना शुरु भएको हो । यो कुरा थाहा पाएपछि वडाध्यक्ष केवटले कसैको कुरा नै नसुनी कुटपिट शुरु गरेको बताइएको छ ।

कुटपीटका कारण बब्लुको कान, नाक र मुखबाट रगत आएको थियो । कुटपीटमा परेका केवट सम्मरीमाई गाउँपालिका ६ पचपेडवाका बासिन्दा हुन् । उनलाई कालोमोसो दलेर, जुत्ताको माला लगाएर पिट्दै गाउँ घुमाएको छ । स्थानीयले युवाको गल्ती नै भएपनि कानुन अनुसार कारवाही हुनुपर्ने बताएका छन् । यद्यपी वडाध्यक्षको किन पनि आलोचना भईरहेको छ भने उनले विगतमा पनि यसैगरी अन्यलाई कुटपिट गर्ने गरेका थिए । निँहु बनाउने र कुटपिट गर्ने उनको बानी रहेको स्थानीयको आरोप छ ।

स्थानीयहरू भने वडाध्यक्षको डरले केही बोल्न चहाँदैनन् । वडाध्यक्षले आफ्नो पदको दुरुपयोग गरेर आफैसजाय दिइरहँदा नजिकै रहेको प्रहरी भने वेखवर देखिएको थियो । प्रहरीलाई जानकारी दिएको लामो समयपछि मात्र युवकको उद्दार गरिएको स्थानीयहरू बताउँछन् ।