काठमाडौं, कात्तिक १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली रपुष्पकमल दाहाल, प्रचण्डबीचको संवादहीनता तोडिएको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच आज बिहान टेलिफोन संवाद भएको हो ।
कर्णाली प्रदेशको बिवाद समाधानको बिषयमा कात्तिक ४ गते भएको सहमतिलाई अध्यक्ष प्रचण्डले तोडेपछि दुई अध्यक्षबीच संवादहीनता देखिएको थियो । कात्तिक ४ गते ओली र प्रचण्डबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्तासँगै भएका पछिल्ला सबै राजनीतिक नियुक्ति बदर गर्ने सहमति भएको थियो । सहमति अनुसार कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने र मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय भएपनि प्रचण्डले निर्णय उलंघन गर्नुभएपछि दुवै अध्यक्षबीच दुरी बढेको हो ।
सोही बिवादमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले मुख्यमन्त्री शाहीलाई पत्र पठाई प्रमुख सचेतकमाथिको कार्वाही फिर्ता दिन सुझाव दिनुभएको थियो भने प्रचण्डले इञ्चार्ज जनार्दन शर्मालाई स्वतन्त्र रुपमा निर्णय लिन भन्दै आत्मनिर्णयको अधिकारसहितको संघीयताको मुद्दा ब्यूताउनु भएको थियो । दुवै अध्यक्षबीच संवादहीनता देखिएपछि महासचिव बिष्णु पौडेल, स्थायी कमिटीका सदस्यहरु सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र प्रदीप ज्ञवालीले पहल लिनुभएको थियो ।
परराष्ट्रमन्त्री समेत रहुनुभएका नेताप्रदीप ज्ञवालीले आज बिहान अध्यक्ष प्रचण्डलाई उहाँकै निवासमा भेटी दुई अध्यक्षबीच टेलिफोन संवाद गराउनु भएको खुमलटार स्रोतले जनाएको छ । यसबीचमा अध्यक्षद्वय ओली र प्रचण्डले बरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्