जनता टाइम्स

१४ कार्तिक २०७७, शुक्रबार १९:१९

नेपाल संवत ११४१ मनाउन बन्यो समिति


काठमाडौं, कात्तिक १४ । नेपाल संवत ११४१ देशभर विविध कार्यक्रम गरी मनाउन रमेश महर्जनको अध्यक्षतामा ‘नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४१’ गठन भएको छ ।

नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत ११४१ मनाउन समारोह समिति गठनका लागि भेला बोलाउने अवस्था नरहेको ठहर गरी ११४० कै अध्यक्ष तथा अन्य प्रतिनिधिहरुलाई निरन्तरता दिँदै यस पटक पनि समारोह समिति गठन गरिएको हो । नेपाल संवत ११४१ का वार्षिक कार्यक्रम तथा समारोह मनाउन समितिका सल्लाहकार, नेवार अगुवाहरुको सल्लाहबमोजिम समारोह समितिको नेसं ११४० कौलाथ्व द्वादशी (असोज १२ गते) बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

‘यस समितिमा समाविष्ट सम्बन्धित संघसंस्थाले आआफ्ना प्रतिनिधि हेरफेर गर्न सक्ने तथा गत वर्ष समाविष्ट नरहेका संघसंस्थाले यस वर्षका लागि प्रतिनिधि पठाउन सक्ने बैठकबाट निर्णय भएको जानकारी गराउँदछु । कोरोना महामारी यथावत रहेको अवस्थामा नेपाल संवत ११४१ को नव वर्षको समारोह कसरी मनाउने भन्ने सन्दर्भमा नेपाल संवत् आन्दोलनका अगुवा तथा संघसंस्थाहरुसँग छलफल गरी चाँडै निर्णय लिइने छ,’ पुनर्गठित समितिका अध्यक्ष रमेश महर्जनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, । नेपाल संवतको नव वर्षलाई उत्सव मात्र नभएर सांस्कृतिक जागरण अभियानको रुपमा नेवार समुदायले मनाउँदै आएका छन । नेपाल संवत आन्दोलनका प्रवर्तक दिवङ्गत पद्मरत्न तुलाधरलाई सम्झँदै उनले देखाएको सांस्कृतिक एकता र राष्ट्रियता प्राप्तिको मार्गमा लाग्ने सङ्कल्प गर्ने दिनका रुपमा लिन पनि समितिले आह्वान गरेको छ ।

‘देशका जनताका ऋणमोचन पछि नेपाल देशकै नाममा संवत् स्थापना गर्ने शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्न तथा नेपाल संवत्लाई नेपालको राष्ट्रिय संवत् घोषणा गराउन नेपाल संवत्को आन्दोलनले सफलता प्राप्त गरिसकेको छ । यद्यपि सरकारी कामकाजमा नेपाल संवतलाई प्रयोगमा ल्याउने, नेपाली राष्ट्रियता सुहाउँदो संवत्का सम्बन्धमा आवश्यक नीति बनाउन सरकारलाई बाध्य पार्ने, देशका सम्पूर्ण जनजातिका सांस्कृतिक चाडपर्वलाई समानताको आधारमा सरकारी व्यवहार गराउने कार्यका लागि अझै यस आन्दोलनको आवश्यकता रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । समारोह समितिले देशैभरि एउटै नारा र एउटै अभियानअनुसार नेपाल संवतको नववर्ष मनाउन पहल भइरहेको जनाएको छ ।