काठमाडौं, कात्तिक १६
सरकारले डबिङ गरेको विज्ञापन प्रसारण गर्ने सञ्चारमाध्यमलाई कारबाहीको तयारी गरेको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने र नेपालका सञ्चारमाध्यमले पनि विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्न नपाउने व्यवस्था छ । यो ऐन गत कात्तिक ८ देखि कार्यान्वयनमा आएको छ ।
ऐनको व्यवस्थाअनुसार विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्नेलाई ऐनको व्यवस्थाअनुसारै कारबाही हुने विज्ञापन बोर्डका अध्यक्ष डिल्लीराम शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयको प्राविधिक टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको छ । डबिङ गरेर विज्ञापन प्रसारण गर्नेलाई कारबाही हुने जानकारी पनि गराइसकेका छौं ।’ उहाँले ऐनमा भएको व्यवस्थाअनुसार कारबाही हुने पनि सुनाउनुभयो ।
ऐनको दफा २५ को कसुर र सजायमा दफा ६ बमोजिमको कसुर गर्ने गराउने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुन्छ । ऐनको दफा ६ को १ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ र ३ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले पुनः प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन भनेको छ । यो व्यवस्थाविपरीत गरे ५ लाख रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ ।
‘अहिले हामी ऐन कार्यान्वयनको चरणमा छौं । ऐनमा भएको व्यवस्थाअनुसार बडिङ गरेर विज्ञापन प्रसारण गर्न पाइँदैन,’ उहाँले भन्नुभयो,‘प्रसारण गरेर कारबाहीको भागिदार हुनुपर्छ ।’ नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्र रिजालका अनुसार ऐनको व्यवस्था अनुसार डबिङ गरेको विज्ञापन प्रसारण गर्न नपाइने व्यवस्था पालना हुनुपर्छ ।
क्लिनफिड लागु हुँदा त्यसको सबैभन्दा बढी फाइदा सञ्चारमाध्यमलाई नै हुने हुँदा ऐनको व्यवस्थाविपरीत गएर डबिङ गरेको विज्ञापन प्रसारण गर्नु÷गराउन नहुने उहाँले बताउनुभयो । अनलाइन, पत्रपत्रिकाको बारेमा ऐनमा व्यवस्था नरहेको भन्दै अब बोर्डले पूर्णता पाउनसाथ नियमावली बनाएर त्यसको पनि नियमन गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्