जनता टाइम्स

१७ कार्तिक २०७७, सोमबार ०८:४३

डडेलधुराका मेयर ओखलढुंगामा ठेकेदार, कामै नगरी यसरी बनिरहेछन जनतााथि भार


ओखलढुंगा, कात्तिक १७ । डडेलधुराका जनप्रतिनिधि ओखलढुंगाको ठेकेदार बन्दा जनताले निकै सास्ती पाएका छन । जनप्रतिनिधि ठेकेदार रहेकै कारण सुनकोसी गाउँपालिका वडा– १० र मोलुङ गाउँपालिका वडा–१ स्थित मोलुङ खोला मान्द्रेदाभानको पक्की पुल ७ वर्षदेखि अलपत्र परेको छ ।

पटक–पटक थपिएको म्याद सकिए पनि ठेकेदारले पुलको आधा पिलर उठाएर अलपत्र छाडेका छन् । यो मोलुङ र सुनकोसी जोड्ने मात्रै नभइै साँघुटार–ओखलढुंगा सडकले सदरमुकाम र जिल्लाका पश्चिमी भूभाग जोड्ने राजमार्गको पुलसमेत हो । पुल नबन्दा बर्खामा खोलो बढ्ने भएकाले जेठदेखि कात्तिकसम्म यातायात बन्द हुने गरेको छ । यसले सदरमुकाम आउजाउमा सर्वसाधारण हैरानी खेप्न बाध्य छन् ।

पुल निर्माण गर्ने कम्पनीका ठेकेदार परशुराम नगरपालिका, डडेलधुराका मेयर भीमबहादुर साउद हुनुहुन्छ । साउदको राजेन्द्र निर्माण सेवाले ठेक्का पाएको उक्त पुल ७ वर्षदेखि अलपत्र छ । २०७२ मा ठेक्का लिएर २ वर्षभित्रै सक्ने गरी सम्झौता भएको पुल २ पटक म्याद थपेर पनि जग निर्माण भएन । दोस्रो पटक थपेको म्याद पनि २०७६ जेठमा सकिएपछि अन्तिम पटकलाई भनेर तेस्रो पटक म्याद थपिए पनि काम अझै अलपत्र छ । म्याद थप्ने समय केही कामदार र प्राविकि खटाएर २०७६ चैतभित्र काम सक्ने प्रतिबद्धता जनाएर साउदले खटाएका प्राविधिकले कम्पनीको प्रतिनिधि भएर काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । सांसद र प्रमुख जिल्ला अधिकारीले लिखित कागज गराएर म्याद थप गर्न लगाए पनि म्याद थपेपछि भने काम अघि बढेन । खोलामा हालिने पिलरको आधा मात्रै काम भएको छ । ठेक्का सम्झौता गर्नसमेत नआएर प्रतिनिधि खटाएका जनप्रतिनिधि साउदले शक्तिको आडमा विकासे काम अलपत्र पारेका हुन ।

ओखलढुंगा जिल्लालाई पूर्व–पश्चिम जोड्ने मेरुदण्डका रुपमा रहेको उक्त पुल ३० असार २०७० भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । ‘पाइल फाउन्डेशन’ प्रविधिबाट बनाइने भनिएको पुल निर्माणको पहिलो चरणमै चट्टान भेटिएपछि डिजाइन परिवर्तन गर्नै १८ महिना लागेको थियो । प्रविधि परिर्वतन गर्नु परेपछि साउदका कन्ट्रयाक्टर रवीन्द्र लामा भागे । सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ लागतमा सम्झौता भएको पुलको रकम पछिल्लो डिजाइनपछि ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ पुर्याइएको छ ।

स्वीस सरकारको सहयोगमा निर्माण गरिने पुलको ठेक्का तत्कालीन जिविसले लगाएको हो । यसको प्राविधिक सहयोग स्थानीय सडक पुल परियोजना (एलआरबिपी) ले गरेको छ । पुल निर्माण भए ८० मिटर लम्बाइ र ५ मिटर चौडाइको हुनेछ । लामो समयदेखि पुल अलपत्र पार्ने साउद ठेकेदार र नगरप्रमुख मात्र नभएर कांग्रेस डडेलधुराका नेतासमेत हुन ।