जनता टाइम्स

१७ कार्तिक २०७७, सोमबार ०९:३६

जनताका असल सेवक : जस्ले लिए असहाय वृद्धालाई बाँचुञ्जेल पालन पोषणको जिम्मा


खोटाङ, कात्तिक १७ । बुवा आमालाई वृद्धाश्रममा छोडेर घरमा कुकुर पाल्नेहरुका लागि गतिलो उदाहरण बन्नुभएको छ खोटाङको जन्तेढुंगा– ४ का वडाअध्यक्ष बिदुरमान राई । सोवडाले एक जेष्ठ नागरिकलाई बाँचुन्जेल पालन पोषण र खानपान गराउने वडा कार्यालयले निर्णय गरेको छ । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय खाँवा टोलकी ६९ वर्षीय बृद्धा डम्बरकुमारी राईको खाने बस्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको हो ।

वडा कार्यालयले सन्तान नभएको र श्रीमानको पनि मृत्यु भइसकेको अवस्थामा बेसाहारा जीवन बिताइरहेकी राईको छाक टार्ने व्यवस्थाको जिम्मा लिएको हो । हातगोडा चल्न छाडेको र खेती किसानीको काम गर्न नसक्ने अवस्थामा पुगेका कारण बृद्धाको खाने बस्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष बिदुरमान राईले जानकारी दिनुभयो । बृद्धा राई बाचुञ्जेलसम्म आवश्यकताका आधारमा खाद्यान्न, दाल, नुन, तेल घरैमा पुर्याइदिने व्यवस्था मिलाइएको वडा कार्यालयले जनाएको छ ।

२००८ सालमा जन्मनुभएकी डम्बरकुमारीका श्रीमानको पाँच वर्षअघि नै मृत्यु भइसकेको छ । हाल उहाँ बुढौलीपनका कारण आफै काम गरेर जीवन निर्वाह गर्न सक्ने अवस्थामा हुनुहुन्न । लट्ठीको साहरामा मात्र हिँडडुल गर्न सक्नुहुन्छ । हाल सानो झुपडीमा बस्दै आउनुभएको छ । उहाँ कान पनि सुन्नुहुन्न । गत वर्षसम्म जेनतेन कुटो कोदालो गरेर २ रोपनी जग्गाको सानो अंशमा खेतीपाती लगाउनु भएकी उहाँ यस वर्षदेखि घर भित्र बाहिर गर्न समेत नसक्ने अवस्थामा पुगेको कारण बाचुञ्जेलसम्म खाना खाने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष राईले बताउनु भयो ।

‘पोहोर सालसम्म अलि अलि काम गर्न सक्नुहुन्थ्यो, यस वर्षदेखि कुटो चलाउन समेत सक्ने अवस्था नदेखिएपछि खाने व्यवस्था वडाले गर्ने जिम्मा लिएको हो,’ वडाध्यक्ष राईले भन्नुभयो, ‘आवश्यक परेको समयमा वडाकातर्फबाट खाद्यान्न पु¥याइदिने व्यवस्था गरेका छौँ । खाद्यानन व्यवस्था भएपछि उहाँले पकाएर खानुहुन्छ ।’ फुसको छानो हटाएर जस्ताको छाना हालिदिनका लागि वडा कार्यालयले डम्बरकुमारीको घरलाई पहिलो प्राथमिकतामा राखेको छ । उहाँलाई सोलार समेत निःशुल्क वितरण गरिसकिएको छ ।