काठमाडौं, कात्तिक १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध चक्रब्यूह रचिरहँदा कान्तिपुर दैनिकको सम्पादकीय टीम प्रचण्डको रक्षकवचका रुपमा उभिएको तथ्य बाहिर आएको छ । प्रचण्ड निवास खुमलटारमा रचिएको कथालाई कान्तिपुरले एक जना सम्मानित नेताको बदनाम गर्दै फेक समाचार बनाएपछि यस्तो तथ्य बाहिर आएको हो ।
पार्टी एकता भएको तीन महिनापछिबाटै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध षडयन्त्रको गुरुयोजना बनाउनु भएका अध्यक्ष प्रचण्डले स्थायी कमिटीको निर्णयअनुसार काम गर्नुभन्दा सरकारलाई काम नै गर्न नदिने योजनाअनुसार आइतवार बरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका नेताहरु बोलाएर ‘प्रधानमन्त्रीले अलग अलग पार्टी बनाएर जाऔं’ भन्नुभयो भन्दै ‘जसरी पनि यही कार्यकालमा प्रधानमन्त्री हुनैपर्ने’ भित्री योजनाअनुसार चालिएको कामको बचाउ गर्नुभयो । यही कथा रच्ने क्रममा प्रचण्डले पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका नेकपाका बरिष्ठ नेता प्रदीप नेपालको निवासमा प्रधानमन्त्रीका सल्लाहकार, मन्त्री र मुख्यमन्त्री भेटघाट गर्न गएको बिषयलाई गम्भीर षडयन्त्रको संज्ञा दिँदै कथा सुनाउनु भयो ।
कार्यकारी अध्यक्षको जिम्मा लिएपछि पार्टी काममा सिन्कोसमेत नभाँच्नु भएका प्रचण्डले प्रधानमन्त्रीका सल्लाहकारहरुको भेटलाई कथा बनाउँदै भन्नुभयो, ‘प्रदीप नेपाललाई पार्टी विभाजनपछि बन्ने नेकपा एमालेको अध्यक्ष बनाउने तयारी रहेको बिश्वस्त सूचना मलाई आएको छ, प्रधानमन्त्रीको सल्लाहकार समूहका सदस्यहरूले भेटेर उनी (प्रदीप नेपाल) लाई अध्यक्ष बनाउने र ओली नवगठित एमालेको संरक्षक बन्ने प्रस्ताव गरेका रहेछन । उनीहरुले प्रदीपसँग हामीलाई तपाईंले नै उत्पादन गर्नुभएको हो, संगठन विभागको प्रमुख पनि बन्नुभयो, हाम्रो गुरु पनि हुनुहन्छ, अब फेरि सक्रिय हुनुस भनेछन, उनीहरू पार्टी फुटाउने पूरै मानसिकतामा छन ।’
प्रचण्डको यो कथालाई नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सुनेको नसुने झै गरी उडाई दिनुभयो । कुनै प्रश्न गर्नुभएन । लामो समयको संगत र प्रदीप नेपालको स्वभावको कारण यो कथाले माधवको खासै ध्यान तान्न सकेन । पार्टी प्रवक्ताको जिम्मेवारी भएपनि सुरुदेखि अहिलेसम्म नेकपाको बिरुद्धमा मात्रै लागिरहनुभएका र पार्टी बिभाजन गरेरै छाडने कसम खानुभएका नारायणकाजी श्रेष्ठ भने निकै उत्साहित हुनुभयो । ‘ए, ओलीले त्यसो पो गरेछ, यही हो उसलाई सिध्याउने समय’ भन्दै हौसिनुभयो । ओलीलाई प्रधानमन्त्री मानिरहनु भन्दा त पार्टी फुटाउनु नै बेस भन्ने आफ्नो निश्कर्ष पनि प्रवक्ता श्रेष्ठले सुनाउनु भयो ।
पूर्वमन्त्री नेपालको गोठाटारस्थित निवासमा शनिवार नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासहितको टोली पुगेको थियो । पूर्वमन्त्री नेपालका चेला रहनुभएका सवै नेताले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आफूहरुको कमजोरीबारे सचेत गराइ दिन नेता नेपालसँग आग्रह गर्नुभयो र सुझाव सुनेर फर्कनुभयो । जव त्यो भेटको फोटो सार्वजनिक भयो, प्रचण्ड कथा रच्नतिर लाग्नुभयो ।
शनिवार प्रधानमन्त्री नपाए जे पनि गर्ने भन्दै हिडनुभएका प्रचण्डले आइतवार प्रदीप नेपालसँगको त्यो भेटलाई नेकपा एमाले बिभाजन भएपछि ‘मदन–आश्रितको हत्या माधव नेपाल र केपी ओलीले गरेको भन्दै कथा रच्ने टीएन प्रधान’ कै शैलीमा प्रचण्डले कथा बनाउनु भयो । खुमलटारमा प्रचण्डले बनाउनु भएको त्यो कथा आजको कान्तिपुर दैनिकमा ‘नयाँ ताण्डव’ शीर्षकमा प्रकाशित भएको छ । जहाँ खुमलटारमा प्रचण्डको मुखारबृन्दबाट आएको कथा जस्ताको तस्तै छापिएको छ । प्रचण्डकै कुरालाई प्रदीप नेपालसँग कुराकानी गरिएको भन्दै कोडसमेत गरिएको छ । यस बिषयमा नेता प्रदीप नेपालले नै मुख खोल्नुभएको छ ।
पूर्वमन्त्री नेपालले कान्तिपुरमा कथा रचेर आफ्नो नाम जोडदै आएको समाचार सर्वथा गलत रहेको तर पनि मुद्दा भने नहाल्ने सार्वजनिक जानकारी दिनुभएको छ । ‘कान्तिपुरमा नयाँ ताण्डव शीर्षकमा मेरो नाम जोडेर आएको समाचार सर्वथा गलत छ । तर म मुद्दा हाल्दिन,’ नेपालले सामाजिक सञ्जाल फेसबुकमै लेख्नुभएको छ । यसरी प्रचण्ड निवासमा रचिएको कथालाई कान्तिपुरका सम्पादकले आफ्नो उत्पादन बनाएर समाचारका रुपमा प्रकाशित गरेको तथ्य आएको हो ।

यो समाचारसँगै कान्तिपुरका असली सम्पादक नेकपा अध्यक्ष प्रचण्ड रहेको भन्दै सोही पत्रिकाका केही संवाददाताले ब्यंग्य गर्न थालेका छन । कान्तिपुर मिडिया ग्रुपमा आवद्ध एक पत्रकारले जनताटाइम्सलाई दिएको जानकारीअनुसार बेलुका ८ बजेपछि प्रचण्ड निवासबाट लेखेर पठाइएको समाचारलाई रिपोर्टरले लेखेको अर्कै समाचारमा मिसाएर बाइलाइन दिएर प्रकाशित गरिएको हो । ‘हाम्रा सम्पादकले यस्तो काम धेरै पटक गरिसक्नु भएको छ, यस्तो भइरहन्छ,’ ती पत्रकारको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्