जनता टाइम्स

१८ कार्तिक २०७७, मंगलवार १३:२७

प्रचण्डका घरबेटीको शैली : मोबिलाइजेसनको रकम लिने सडक नबनाउने, ठेक्का लिने मल नल्याउने


काठमाडौं, कात्तिक १८

शैलुङ जेभी भन्ने वित्तिकै सबैको मनमा एउटा कुरा आउछ, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरबेटी । शारदाप्रसाद अधिकारी ठेकदार कम घरबेटीको नामबाट बढि चर्चित छन् । विवादको घेरामा परिरहने र काम थोरै ठेक्का बढि लिइरहने ठेकदारको घरमै बसिरहने प्रचण्डको मोह पनि गजब्बको छ ।

यी घरबेटी भक्तपुर–नगरकोट सडक, ककनी जाने सडक, मेलम्चको ठेक्का, सुनाकोठीको सडक ठेक्का पाउने भाग्यमानी ठेकदार हुन् । यी सबै काम गर्दछन् तर ठेक्कामा पाएको काम गर्दैनन्, भनेर यी माथी उल्लेख गरिएका सडक प्रयोग गर्ने स्थानीयबासी बताउछन् । नगरकोट जाने सडक नबनाएपछि स्थानीयले पोष्टर नै टासेर घरबेटी ठेकदार खोजे ।

यस्तै हालत भएको छ अहिले ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले सडक खण्डका स्थानीयको । यो सडकको एक खण्डको ठेक्का दिवा–शैलुङ जेभीले पाएको ६ वर्ष वितेछ । ६ वर्षसम्म धुलो खाएका स्थानीयले नयाँ नारा दिएर आइतवारदेखी सडक बन्द गरेका छन् । उनिहरुले सडक भत्काएर अलपत्र छाड्ने ठेकदारविरुद्ध विभिन्न ठाउँमा ‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार !’ नारा लेखेर टाँसेका छन् । प्रचण्ड बसेको अधिकारी निवास यही सडक खण्डको ढोलाहिटीमा पर्दछ । त्यहासम्म चाँही सडक विस्तारको काम सकिएको छ है ।

प्रचण्डलाई घरम जान चिल्लो सडक बनाईदिएका अधिकारी त्यसपछि भने बेपत्ता जस्तै भएका छन् । वर्षा हुनेवित्तकै हिलो र घाम लाग्ने वित्तिकै धुलो खाने यो क्षेत्रका स्थानीयको भाग्यमा रहेको छ । सडक मर्मत नभएको विषयमा न घरबेटी बोल्छन् र त्यही घरमा बसका शक्तिशाली ‘भाडावाल’ बोल्छन् । त्यही भएर यहाका स्थानीय यी दुई भाडावाल र घरबेटीसँग क्रुद्ध बनेका छन् ।

शैलुङको शानदार काम यहामात्र होइन् हरेक किसान व्यथासँग पनि जोडिएको छ । सरकारले किसानका लागि युरिया मल ल्याउन कानुन अनुसार ठेक्का निकाल्यो । कानुनअनुसार नै २५ हजार टन युरिया मल ल्याउने जिम्मा शैलुङले पायो । रकम पनि लियो तर, घरबेटीलाई फेरी पुरानै रोगले छोयो । ठेक्का लिएर ठेकदार फेरी फरार । बिचारा कृषिमन्त्री धनश्याम भुषाल किसानको आक्रोशको रापमा परे । सार्वजनिक रुपमा माफी मागे । तर, ठेकदारको मन फेरी पनि पग्लिएन । किनकी मल ल्याउने अर्को ठेक्का पनि शैलुङकै हातमा छ ।

ठेक्का लिएर मोबिलाइजेसन रकम बुझेपछि आयोजनाहरु अलपत्र छाड्ने शैलुङको प्रवृत्तिले सबभन्दा आजित त सडक विभाग नै छ । यी ठेकदारले ठेक्का पाएको अर्को सडक खण्ड पनि छ, नागढुंगा–कलंकी सडक खण्डको काम । कपन क्षेत्रका ३ वटा सडकका ठेक्का, बालकुमारीबाट हनुमन्ते दोभानसम्मको सडक यी नै ठेकदारले लिएका छन् । लिएकामात्रै छन् काम भने पुरा गरेका छैनन् ।

यी घरबेटीलाई सजिलो बनाएको छ, सार्वजनिक खरिद नियमावलीले । सडकको सम्झौता सकिनु केही दिन अघि उनि विभिन्न बाहाना बनाएर म्याद थपको प्रावधान लिएर आउछन् । नियमावलीअनुसार म्याद थप गर्न सडक विभाग बाध्य हुन्छ । विभागकै कुरा मान्ने हो भने कुनै पनि आयोजनाहरुको लागत अनुमानभन्दा निकै कम मूल्य राखेर टेन्डरमा यी घरबेटी ठेकदार सामिल हुने गरेका छन् । त्यहाबाट मोबिलाइजेसनको रकम लिने र अन्यत्र लगानी गर्ने गरेको स्रोत बताउछन् ।

यसविषयमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड अहिलेसम्म चुप लाग्नु र अधिकारीकै घरमा बसिरहनुले यी दुईबीच सहकार्य त छैन् भनेर स्थानीय शंका गर्ने गर्दछन् । हुनत केही महिना अघि अध्यक्ष प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा आफु नयाँ घरको खोजीमा रहेको बताउनु भएको थियो । तर, त्यो अहिलेसम्म पुरा भएको वा शुरु भएको देखिएको छैन ।