जनता टाइम्स

१८ कार्तिक २०७७, मंगलवार १७:१२

उद्योग बाणिज्य महासंघ निर्वाचन : चन्द्र ढकाल समूहको उम्मेदवारी दर्ता, यस्तो छ मतदातालाई अपिल


काठमाडौं, कात्तिक १८ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालले आफ्नो प्यानलसहित आज उम्मेदवारी दर्ता गराउनु भएको हो ।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराउनु भएको छ । वस्तुगत उपाध्यक्षमा श्रेष्ठले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो । यसैगरी महासंघको केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेद्वार दर्ता गराउनु भएको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोरोना भाइरस संक्रममण (कोभिड–१९ ) तथा लकडाउनका कारण स्थगित भएको थियो । पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

गत वर्षको मंसिरमा गृह जिल्ला बागलुङ्गमा आयोजित बागलुङ्ग महोत्सवमा बागलुङ्ग उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवार प्रस्ताव गरेको थियो । पछि फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रममार्फत ढकालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो । उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताउनु भयो । अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको बताउँदै ढकालले आफ्नो समूहले मात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व दिनसक्ने ठोकुवा गर्नुभयो ।

‘व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएका छौं,’ ढकालले भन्नुभयो । उहाँले मुलुकभर भएको व्यवसायिक सञ्जाल, सानादेखि ठूला व्यवसायसम्मको अनुभव, व्यवसायी मित्रहरुसँगको सुमधुर सम्बन्ध र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्क नै आफ्नो जीतको मुख्य आधार भएको बताउनु भयो । ढकाल समुहको उम्मेद्वारी दर्तामा पूर्वअध्यक्ष चण्डी ढकालसहितका पदाधिकारीहरु सहभागी हुनुभएको थियो । उद्योग बाणिज्य महासंघको आगामी निर्वाचनमा ढकाल समुह अर्काे समुह भन्दा निकै बलियो मानिन्छ ।