जनता टाइम्स

१८ कार्तिक २०७७, मंगलवार २०:१५

यस्तो छ राष्ट्रपतिसँग बामदेव भेटबार्ताको भित्री कुरा


काठमाडौं, कात्तिक १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको बिवाद छताछुल्ल भइरहेको बेला उपाध्यक्ष बामदेव गौतमले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग लामो छलफल गर्नुभएको छ । उपाध्यक्ष गौतमले राष्ट्रपति भण्डारीसँग बिशेष समय लिएर आज शितलनिवाशमा छलफल गर्नुभएको हो ।

उपाध्यक्ष गौतमको चाहनाअनुसार आज उहाँहरुबीच भेट भएको हो । भेटमा नेकपाको पछिल्लो बिवाददेखि समसामयिक बिषयामा छलफल भएको छ । ‘बामदेव गौतमले केही दिनदेखि राष्ट्रपतिसँग भेट गर्न चाहनुभएको थियो, आज समय मिल्यो, कुराकानी लामै भएका छन तर के बिषयमा कुराकानी भयो भन्ने चाँहि सम्माननीयज्यू र बामदेव गौतममै सिमित छ,’ राष्ट्रपतिको सचिवालयमा रहेका एक सहयोगीले जनताटाइम्ससँग भने । भेटवार्ताका क्रममा नेकपाको बिवादबारे राष्ट्रपतिलाई गौतमले नै जानकारी गराउनु भएको थियो ।

सो क्रममा लामो छलफल हुँदा राष्ट्रपतिले नेताहरु सवै आपसी छलफलबाट एकता मजवुत बनाउने बिश्वास आफूलाई रहेको बताउनु भएको थियो । राष्ट्रपति भण्डारीले आफूसँगको भेटलाई लिएर बिगतमा पनि अनावश्यक बिवाद गर्न खोजिएको भन्दै गौतमलाई ‘तपाईको आग्रह इन्कार गर्न सकिन’ भन्दै जानकारी लिने काम गर्नुभएको थियो भने गौतमले पार्टीभित्रको बिवाद मिलाउन आफू सक्रिय हुने बताउनु भएको स्रोतले बतायो ।

‘नेताहरु भेटन आउनु हुन्छ, यस्तै आफूलाई लागेको कुराकानी हुन्छ, बाहिर गएर नचाहिँदो कुराकानी हुने रहेछ, पार्टीभित्रको बिवादमा मलाई खासै चासो हुने कुरा भएन, मिल्नोस भन्ने चाँहि सवै दलका नेताहरुलाई भन्छु, तपाईहरु बिभाजित हुनोस भन्न त सक्दिन नि,’ गौतमसँग राष्ट्रपति भण्डारीको भनाई उधृत गर्दै शीतलनिवास स्रोतले जनताटाइम्ससँग भन्यो ।

भेटमा गौतमले आफूहरु जहिले पनि राष्ट्रपतिमाथि आशंका गर्ने नगरेको भन्दै त्यस्तो चिन्ता नलिन सुझाउनु भएको थियो । उहाँले पहिलेदेखि नै भेट गर्न चाहे पनि कोरोनाको कारण र आइसोलेशनमा बस्नु परेकोले ढिला भएको र अहिले भेटना आउँदा नेकपाभित्र बिवाद भएको भन्दै आफू बिवादमा तान्नका लागि शितलनिवास नआएको प्रष्टिकरण दिनुभएको थियो ।