जनता टाइम्स

१९ कार्तिक २०७७, बुधबार १५:४२

कैलाली प्रहरी हत्या प्रकरण : थप एक पक्राउ


कैलाली, कात्तिक १९

अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद हत्याप्रकरणमा थप एकजना पक्राउ परेका छन् । कात्तिक १ गते राति तस्करी नियन्त्रण गर्ने क्रममा धनगढी–१० मा २ प्रहरी मारिएका थिए । घटना भएको १९ दिनपछि प्रहरीले थपएक जनालाई पक्राउ गरेको छ ।

हत्या काण्डामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका व्यापारी राजीव गुप्तालाई पक्राउ गरेको हो । व्यापारी गुप्ताले नै मटर तस्करी गर्न लगाएको प्रहरीको ठहर छ । तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

‘त्यो बेला तस्करी भएको सामान गुप्ताको रहेको खुलेको छ । त्यसपछि हामीले उनलाई पक्राउ गरेका हौँ,’ उहाँले भन्नुभयो । करिब २५ लाख बढीको मटर तस्करी हुँदै गर्दा प्रहरीले रोकेपछि २ प्रहरीको हत्या गरिएको यसअघि पक्राउ गरेका अभियुक्तहरूले स्वीकार गरिसकेको उहाँले बताउनुभयो । प्रहरीको हत्यापछि तस्करले मटर भारत पुर्याएका थिए । गुप्ताले जुनसुकै अवस्थामा पनि मटर तस्करी गर्न तस्करहरूलाई दबाब दिएको प्रहरी स्रोतको भनाइ छ ।

‘गुप्ताले जुनसुकै अवस्था आए पनि तस्करी गर्नु भन्ने निर्देशन दिएका थिए’ एक प्रहरी अधिकारीले भन्नुभयो, ‘प्रारम्भिक अनुसन्धानमा गुप्ताले तस्करी गर्न दबाब दिएको र २ प्रहरीको हत्या भएको देखिएको छ ।’ कार्तिक १ गते बेपत्ता भएका असईको विकको शव २ गते र प्रहरी जवान साउदको शव ४ गते फेला परेको थियो । दुवै जनाको शव विभत्स ढंगले हत्या गरेको अवस्थामा मोहना नदीमा फेला परेको थियो । यसअघि हत्यामा संलग्न भएका ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरी वयानका क्रममा केही अन्य व्यक्तिहरूको पनि नाम आएको, उनीहरु फरार रहेको र खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने राम गोपाल रानालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।