जनता टाइम्स

२० कार्तिक २०७७, बिहीबार १२:५०

मेलम्ची ल्याउन अर्थमन्त्रीले चाल्नु भयो कदम : सबै सहयोग गर्ने घोषणा


काठमाडौ‌ं, कात्तिक २०

मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न खानेपानी मन्त्रालय असफल भएपछि अर्थ मन्त्री विष्णु पौडेल अगाडी सर्नुभएको छ । अर्थमन्त्री पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ ।

पटक पटक पानी ल्याउने घोषणा गर्नुभएकी खानेपानी मन्त्री बिना मगरले अहिलेसम्म पनि पानी कहिले काठमाडौं आउछ भनेर भन्ने सक्नु भएको छैन । त्यही सेरोफेरोमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न अर्थमन्त्रालय तयार रहेको बताउनु भएको हो । उहाले मेलम्ची आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गरिने पनि बताउनु भयो ।

खानेपानी मन्त्री मगरले मेलम्ची खानेपानी आायोजनामा अहिले सबै पक्ष खटिएर काम गरिरहेको जानकारी गराउदै चाँडै सम्पन्न हुने बताउनु भयो । आर्थिक वर्ष २०७७–७८ को बजेट कार्यान्वयन, विशेष गरी पूँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा छलफल गर्न अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, आयोजनाहरुको भौतिक तथा वित्तीय प्रगतिलाई तीब्रताका साथ अघि बढाउनेमा जोड दिइएको थियो ।