काठमाडौं, कात्तिक २०
नेपाल पत्रकार महासंघले यही कात्तिक २६ गते तीन ठूला सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिने भएको छ । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुर्नवहाली, यसबीचको तलब–भत्ता, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्तालगायतका माग पूरा नभएपछि महासंघले आन्दोलन गर्न लागेको हो ।
अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रा. लि. र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रा.लि.लाई पटक–पटक लिखित र मौखिक पत्र तथा वार्ताबाट महासंघले गरेको आग्रह गरेको थियो । उक्त आग्रह बमोजिम श्रम समस्या हल अझै नगरेकाले पाँच दिनभित्र माग सम्बोधन गर्न र नगरे पहिलो चरणको आन्दोलन थाल्ने महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा रहेको उच्चस्तरिय समितिको निर्णयबमोजिम उक्त सबै सञ्चार गृहलाई महासंघले पत्राचार गरेको छ । पाँच दिनभित्र सम्बद्ध सञ्चार गृहको व्यवस्थापनले आन्तरिक रुपमै समस्या सम्बोधन गरी महासंघलाई आन्दोलनमा जानबाट रोक्ने विश्वासका साथ पत्राचार गरिएको महासंघले जनाएको छ ।
पहिलो चरणमा आन्दोलनबाट पनि माग सम्बोधन नभए सम्बद्ध सञ्चार गृहका संचालमको निवास घेराउ र त्यतिले पनि नभए तेस्रो चरणमा पीडीत सञ्चारकर्मीलाई सत्याग्रहमा राख्नेबारे महासंघले छलफल थालेको छ । २६ गते हुने आन्दोलनको तयारी थाल्न महासंघले सम्बद्ध मिडिया प्रतिष्ठानमा रहेका महासंघका शाखालाई निर्देशन समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्