काठमाडौं, कात्तिक २०
अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अहिलेसम्म अमेरिकाको निर्वाचनमा कुनै पनि राष्ट्रपतिका उम्मेदवारले पाएको भन्दा धेरै भोट पाउनुभएको छ । न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले ७ करोड १९ लाख २२ हजारभन्दा धेरै मत पाइसक्नुभएको छ । यसअघि सबैभन्दा धेरै मत ल्याउने कीर्तिमान सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाले राख्नुभएको थियो ।
उहाँले ६ करोड ९४ लाख ९८ हजारभन्दा धेरै मत ल्याउनुभएको थियो । त्यस्तो उहाँकै पालाका उपराष्ट्रपति बाइडनले अहिले ओबामाको कीर्तिमान तोड्नुभएको हो । अहिलेसम्मको मतगणना सकिँदा बाइडनले अर्का उम्मेदवार डोनाल्ड ट्रम्पले भन्दा धेरै भोट पाइसक्नुभएको छ । ट्रम्पले हालसम्म ६ करोड ८३ लाख १५ हजारभन्दा धेरै मत पाउनुभएको छ । मतगणना भने अझै सकिएको छैन ।
लाखौं मत गन्न बाँकी रहेकाले दुवै उम्मेदवारले सन् २००८ मा ओबामाले राखेको कीर्तिमान तोड्न सक्ने अनुमान गरिएको छ । यसपटकको निर्वाचनमा धेरै मानिसहरुले विभिन्न माध्यमबाट सहभागिता जनाएको कारण दुवै उम्मेदवारले उल्लेख्य मत पाएको बताइएको छ । सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पलेभन्दा करिब ३० लाख बढी मत पाउनुभएको थियो । तर, निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो । सीबीसी
प्रतिक्रिया दिनुहोस्