जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १८:३४

मोदीको सपथमा भाग लिई प्रधानमन्त्री ओली स्वदेश फिर्ता


काठमाडौं 

प्रधानमन्त्री केपी शर्मा ओली भारतिय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा भाग लिएर स्वदेश फर्किनु भएको छ । बिहीबार नयाँ दिल्ली पुग्नु भएका प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कनु भएको हो । उहालाई सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसहितका उच्च सरकारी अधिकारीले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

मोदीले दोस्रो कार्यकालको सपथ लिएर ५८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरिसक्नु भएको छ । दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले आज दिउँसो करिब आधा घण्टा समकक्षी मोदीसँग भेटवार्ता गर्नुभएको थियो । त्यसक्रममा उहाले मोदीलाई रुद्राक्षको माला उपहार दिँदै नेपाल भ्रमणका लागि निम्तो समेत दिनु भएको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारका अनुसार दुई नेताबीचको भेटमा सदियौँदेखि देश र जनताबीचको सम्बन्धलाई अझै मजबुत बनाउन सहमति भएको छ ।

प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी र परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल दिल्ली जानु भएको थियो । यो भ्रमण औपचारिक नभएकाले विमानस्थलमा पत्रकार सम्मेलन नगरिएको बताइएको छ ।