जनता टाइम्स

२१ कार्तिक २०७७, शुक्रबार ०९:३९

घुससहित समातिए कुलमान घिसिङका यी बिश्वाशपात्र


हेटौडा, कात्तिक २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख घुससहित नेपाल विद्युत् प्राधिकरणका इञ्जिनीयर ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ ।

हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनीयर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले बिहीवार पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले बसपार्कमा रहेको एक होटलबाट जैसवाललाई पक्राउ गरेको हो ।

आयोगका अनुसार ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इञ्जिनीयर जैसवालले १० लाख मागेका थिए । उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो । पक्राउ परेका जैसवाल नेपाल बिद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङका बिश्वासपात्र हुन ।