जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १८:४२

आरुबोटे हत्याकाण्डमा मानबहादुरको मात्रै संलग्नता भेटिएको प्रहरी दावी


पाँचथर 

पाँचथरको मिक्लाजुङ गाउपालिका–३ आरुबोटेमा ९ जनाको ज्यान जानेगरी भएको हत्याकाण्ड मानबहादुर माखिमले नै गरेको प्रहरीले निष्कर्ष निकालेको छ । जेठ ६ गते भएको विभत्स हत्याकाण्ड माखिमले नै गरेको प्रहरीको स्थलगत अनुसन्धानले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

घटनाको स्थलगत अनुसन्धानले विभत्स हत्या भएको अर्को दिन जेठ ७ गते झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका मानबहादुर माखिमले नै सबैको हत्या गरेको बताएको छ । प्रहरीका अनुसार घटना स्थलमा भेटिएको खुकुरी आत्महत्या गरेका माखिमको रहेको थियो । त्यस्तै माखिमले झुण्डिन प्रयोग गरेको डोरीसँग मिल्ने डोरी पनि माखिमकै कोठामा भेटिएको थियो । माखिमले प्रयोग गरेको मोबाइल पनि त्यस समयमा घटनास्थल आसपास नै लोकेसन देखिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँलले बताउनुभयो । स्थलगत अनुसन्धानमा फेला परेका प्रमाणलाई आधार मान्दै अहिलेसम्म माखिमकै मात्र संलग्नता देखिएको कुवँरको भनाइ रहेको छ ।

घटना स्थलमा भेटिएका प्रमाणहरु परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । प्रयोगशालाको रिपोर्ट आएपछि घटनामा अरुको पनि संलग्नता छरछैन भन्ने खुल्ने प्रहरीले वताएको छ । यसैविच, प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्किले प्रहरीले समयमै माखिममाथि निगरानी गर्न नसक्दा ठूलो हत्याकाण्ड भएको बताउनुभएको छ ।

बिहीबार प्रदेशसभामा जवाफ दिने क्रममा उहाँले स्थानीयले पनि नुनकाण्डदेखि नै शंकाको घेरामा रहेका माखिममाथि प्रहरीले निगरानी राखेको भए यस्तो ठूलो घटना नघट्ने बताउनु भयो ।