जनता टाइम्स

२२ कार्तिक २०७७, शनिबार ०९:४८

अव सवै महानगर र उपमहानगरमा सहसचिवको नेतृत्व


काठमाडौं, कात्तिक २२ । अब सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने भएका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणी (सचिव) रहने व्यवस्थालाई सच्याउँदै अव सहसचिव नै रहने ब्यवस्था गरिएपछि सवै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव रहने भएका हुन ।

असोज अन्तिममा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिले काठमाडौँबाहेक ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहँदै आएको जनाएको छ । त्यस्तै, उपमहानगरपालिकाहरू धरान, इटहरी, जनकपुर, कलैया, जितपुर सिमरा, हेटौँडा, बुटवल, तुलसीपुर, घोराही, नेपालगञ्ज र धनगढी गरी ११ वटै उपमहानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै छन् ।

काठमाडौँ महानगरपालिका पुरानो र देशकै सङ्घीय राजधानीको महानगरपालिका भएकाले काम गर्न थप सहजता होस् भनेर सरकारले सचिवलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो तर काम गर्ने क्रममा सचिवभन्दा सहसचिवबाट अझ सहजता हुने देखिएकाले सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो । “सचिवले कार्यान्वयन तहको भन्दा पनि नीतिगत तहमा काम गर्ने हो, महानगरपालिकामा सचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाउँदा नीतिगतभन्दा पनि कार्यान्वयन तहको काम बढी हुने भएकाले प्रमुख प्रशासकीय अधिकृत सहसचिवलाई पठाउन लागिएको हो,” अधिकारीले भन्नुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिफारिस गर्ने व्यक्ति मन्त्रालयमा पनि सचिव नै रहने र महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पनि सचिव रहँदा व्यावहारिकता नमिलेको भनाइ आएको थियो । साथै सार्वजनिक खर्च पुनरवलोकन आयोगको प्रतिवेदनले अनावश्यक पद काट्दै जाने भनेकाले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव राखेको अधिकारीले बताउनुभयो । मन्त्रालयले काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव पठाउने प्रक्रिया सुरु गरिसकेको छ । हाल काठमाडौँ महानगरपालिकामा सहसचिवको जिम्मेवारीमा कार्यरत राजेश्वर ज्ञवालीलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०६७÷६८ सालमा पनि महानगरपालिकामा तत्कालीन पद कार्यकारी अधिकृतका रूपमा सचिवलाई नै जिम्मेवारी प्रदान गरिएको थियो । त्यसपछि सरकारले सहसचिवलाई कार्यकारी अधिकृत बनाएको र स्थानीय तहको निर्वाचनपछि पहिलो सचिव प्रमुख प्रशासकीय अधिकृतका रूपमा यादवप्रसाद कोइराला, त्यसपछि क्रमशः केदार न्यौपाने र एकनारायण अर्यालले जिम्मेवारी पाउनुभएको थियो । काठमाडौं महानगरपालिकामा यसअघिका प्रमुख प्रशासकीय अधिकृत अर्याल केही समयअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवको जिम्मेवारीमा सरुवा हुनुभएको छ ।