जनता टाइम्स

२२ कार्तिक २०७७, शनिबार १०:०१

देउसी भैलो रोक्न प्रहरी मुख्यालयको कडा निर्देशन


काठमाडौं, कात्तिक २२ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलोमा रोक लगाएको छ । प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी कार्यालयलाई निर्देशन पठाउँदै यस बर्ष देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको हो ।

कोरोना भाइरस महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुवेर कडायतले जानकारी दिनुभयो । उहान्का अनुसार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको बताउनुभयो । महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिनुभएको हो ।

“मुलुकभरका कुनै पनि प्रहरी कार्यालयमा यस वर्ष तिहारमा विशेष मनोरञ्जन कार्यक्रम तथा देउसी भैलो नखेल्न नखेलाउन निर्देशन भएको छ, कोरोना महामारी बढ्न सक्ने भएकाले देउसी भैलो लगायतका कार्यक्रम निषेध गरिएको हो,”, प्रवक्ता कडायतले भन्नुभयो । त्यस्तै स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई देउसी भैलो लगायतका मनोरञ्जन कार्यक्रम नगर्न, नगराउन माइकिङ गरी सचेतना फैलाउने काम भइरहेको जानकारी उहाँले दिनुभयो ।

काठमाडौँ उपत्यका र तराईका विभिन्न जिल्लामा तिहारमा देउसी र पहाडी क्षेत्रमा भैलो खेल्ने प्रचलन छ । यस वर्षको तिहारमा सम्पूर्ण मनोरञ्जनका कार्यक्रम स्थगित गरी घरमै बसी परिवारसँग रमाइलो गर्न आग्रह गरिएको छ । उपत्यकाका काठमाडौँँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि देउसी भैलो निषेध गरेका छन् ।