जनता टाइम्स

२३ कार्तिक २०७७, आईतवार १४:३६

कञ्‍चनपुरमा एकथान म्याग्जिन, दुई राउन्ड गोली र पेस्तोलसहित तीनजना पक्राउ


कञ्‍चनपुर, कात्तिक २३

कञ्‍चनपुरमा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२, बसन्थलाका २२ वर्षीय पारसमणि जोशी, सोही नगरपालिका–१, पिपलथलाका केदार विष्ट र कृष्णपुर नगरपालिका–५ का २६ वर्षीय दीपक भट्ट छन् । उनीहरुको साथबाट एकथान पेस्तोल र म्याग्जिनसहित फेला परेको प्रहरीले जनाएको छ ।

वेदकोट नगरपालिका ५, पोलखरीका ५२ वर्षीय पुष्कर बोहोराको घरनजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७र८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद तीन लाख ९५ हजार र तीनथान मोबाइल लुटी फरार भएका थिए ।

सोही घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्‍न उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । उक्त घटनामा प्रयोग भएको से.६प २२६३ नम्बरको मोटरसाइकल र दुईथान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले एकथान म्याग्जिन र दुई राउन्ड गोली फेला पारेको थियो ।