जनता टाइम्स

२५ कार्तिक २०७७, मंगलवार १२:५९

प्रधानमन्त्री ओली संखुवासभा जाँदै, यस्ता छन् कार्यक्रम


काठमाडौं, कात्तिक २६

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासाभा जिल्लाको भ्रमणमा जानु हुने भएको छ । विभिन्न राष्ट्रिय परियोजना र नेपाल–चीन सीमा क्षेत्र किमाथांका क्षेत्रको निरिक्षण गर्न जान लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीले किमाथांकामा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण गर्नुहुनेछ । त्यसैगरी प्रधानमन्त्री ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजना र कोसी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथांका सडक निर्माणमा भइरहेको प्रगतिको अनुगमन तथा निरीक्षण गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यस्तो छ कार्यक्रम

प्रधानमन्त्री ओली बुधबार बिहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्रको किमाथांका नाका पुग्नु हुनेछ । भोटखोला गाउँपालिका–१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट अनुगमनपश्चात राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ पुग्ने कार्यक्रम रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशु मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम सहितको टोली लिएर किमाथांका नाका निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली सहितको टोलीले किमाथांका नाका, उत्तर–दक्षिण कोशी राजमार्ग र ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजनाको ड्याम साइड निरीक्षण गर्ने कार्यक्रम छ । किमाथांकामा प्रधानमन्त्री ओलीलाई भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे लगायतका जनप्रतिनिधि र स्थानीयले स्वागत गर्ने तयारी भएको छ । उक्त राजमार्गको निरीक्षणपश्चात् हेलिकप्टरमार्फत मकालु गाउँपालिका –५ मा रहेको अरुण तेश्रो परियोजनाको अनुगमन गर्न ड्याम साइड फ्याक्सिन्दा दोभान जानु हुनेछ ।

फ्याक्सिन्दामा प्रधानमन्त्री ओलीले जिल्लाका नेता कार्यकता, जनप्रतिनिधि र स्थानीयसँग भेटघाट तथा छलफल कार्यक्रम सकेर दिउँसो ३ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ ।