जनता टाइम्स

२५ कार्तिक २०७७, मंगलवार १३:५०

६ हजार बढी कर्मचारीमा संक्रमण देखिएपछि तिहार बिदामा बैंक बन्द हुने


काठमाडौं, कात्तिक २५

बैंकहरूले सबै शाखा तिहार बिदामा बन्द गर्ने भएका छन् । कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरूको सम्पूर्ण शाखा बन्द हुने नेपाल बैकर्स संघले जनाएको छ । तर डिजिटल कारोबार र एटीएम सेवा भने नियमित रहने छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण मुलुकमा पनि बढ्दै गएको र पछिल्ला केही दिनमा सो संख्या झन् बढ्दै गएको भन्दै तिहार बिदामा बैकहरूले सबै शाखा बन्द गर्ने जनाएका हुन् । यसअघि दसैँ बिदामा पनि बैंकहरुले शाखा बन्द गरेका थिए ।

यता वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएको छ । ‘हालसम्म ६ हजारभन्दा धेरै कर्मचारी संक्रमित भइसकेको अवस्थामा समेत सेवा नियमित रुपमा प्रदान गर्दै आइरहेका छौं,’ बैकर्स संघले सूचना जारी गर्दै भनेको छ, ‘नजिकिँदै गएको तिहार बिदामा बैंकका शाखाहरु बन्द हुने भए पनि डिजिटल बैंकिङ र एटीएम सेवा यथावत् रूपमा प्रयोग गर्न सकिनेछ ।’संघले संक्रमणबाट बच्‍न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न पनि आग्रह गरेको छ ।