जनता टाइम्स

२५ कार्तिक २०७७, मंगलवार १६:४५

बजेट कार्यान्वयन गराउन अर्थमन्त्रीले लिए पहलकदमी


काठमाडौं, कात्तिक २५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र ५ वटा मन्त्रालयसँग अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुभएको छ । मन्त्रालयहरुसँग बजेट कार्यान्वयनका बारेमा जानकारी लिएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । सबैभन्दा बढी मन्त्रीको चासो बजेट कार्यान्वयन कसरी गराउने र पूँजीगत खर्च कसरी बढाउने भन्नेमा रहेको डा. श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, शहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मन्त्री पौडेलले बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुभयो । अब बाँकी रहेका सबै मन्त्रालयसँग पालैपालो जानकारी लिनुहुन्छ ।’

उहाँका अनुसार केही मन्त्री र सचिवसँग पूँजीगत खर्च कमजोर हुनुको कारण के हो, समस्या कहाँनेर छ, मैले के सहजीकरण गरिदिनुपर्ने हो भनेरसमेत अर्थमन्त्री पौडेलले सुझाव माग्नुभएको छ । यसअघि आयोजनाको छनोट हुनासाथ तयारी नै नगरी त्यसलाई सरकारले बजेट विनियोजन गर्ने, काम सुरु गर्ने तर बीचमै विभिन्न अवरोध आएपछि छोडिदिने गरेको थियो । अब त्यस्ता आयोजनालाई निर्माणमा जानु अघि सबै तयारी पूरा गरेपछि मात्र कार्यान्वयनमा गएपछि बजेट विनियोजन गर्ने पक्षमा अर्थमन्त्री हुनुहुन्छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट ल्याएको छ । जसमा पूँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोड छुट्याएको छ । यस आर्थिक वर्ष सुरु भएको ४ महिनासम्म पूँजीगत खर्च ७.४६ प्रतिशत भएको छ । हालसम्म चालु, पूँजीगत र वित्तीय गरेर कुल २३.१२ प्रतिशत अर्थात् २ खर्ब ४७ अर्ब ८८ करोड रुपैयाँ बजेट खर्च भएको सरकारी लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।