जनता टाइम्स

१८ जेष्ठ २०७६, शनिबार ०९:५७

हामी दुई अध्यक्षलाई भिडाउन सकिन्छ कि भनेर अतिरञ्जित प्रचार नगर्दा हुन्छ : प्रचण्ड


बिराटनगर, जेठ १८

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकता गर्दा भएको सहमतिलाई अतिरञ्जित ढंगले लैजान जरुरी नरहेको बताउनु भएको छ । बिराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकताको बेला भएको सहमति र समझदारीप्रति आफूहरु दृढ रहेको पनि बताउनु भयो ।

‘पार्टी एकताको बेला धेरै सहमति समझदारी गर्दै हामी आएका छौं, त्यो समझदारी अझ उन्नन र बिकसित पनि हुँदै गएको छ, यस बिषयमा हामी दुवै अध्यक्ष प्रष्ट छौं,’ आलोपालो नेतृत्वको बिषय उठाउनुको कारणबारे पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले आफू र प्रधानमन्त्री केपी शर्मा ओली दुवै सहमतिकर्ता रहेकोले बजार गरम बनाउन उछाल्नुको कुनै अर्थ नरहेको बताउनु भयो ।

‘मैले पार्टी एकता गर्दा भएको सहमतिको बिषयलाई स्मरण मात्रै गरेको हो, यसलाई गोप्य सहमति भन्दै अनावश्यक प्रचारबाजीमा लैजान जरुरी छैन, कितावमै आइसकेको बिषय हो,’ प्रचण्डले भन्नुभयो । उहाँले पार्टी नेता कार्यकर्तालाई सरकारको नेतृत्व फेर्ने कि नफर्ने भन्ने जस्ता अनावश्यक बहश नगर्न र अनावश्यक रुपमा प्रचारवाजीमा नलैजान निर्देशन पनि दिनुभयो । ‘सवै कुरा सहमतिमै पार्टीले निर्णय गर्छ, अनावश्यक पोलोराइजेशन नलान म सवैलाई आग्रह गर्न चाहन्छु,’ प्रचण्डको भनाई थियो ।

उहाँले प्रधानमन्त्री ओलीले सहमतिको बिषयमा दिनुभएको अभिब्यक्ति सही रहेको भन्दै आफूहरुलाई भिडाउने प्रयाश संभव नहुने प्रष्ट पार्नुभयो । पार्टी एकताको बेलामा भएको समझदारीलाई स्मरण मात्रै गरेको छु, मैले । यो कुनै नयाँ बिषय होइन, प्रधानमन्त्रीले पनि त्यसैअनुसार बुझ्नु भएको छ, उहाँको कुरा पनि त्यही हो, प्रचण्डको भनाई थियो ।