जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार १७:२५

कोभिड–१९ रोकथाम : हाई डिपेन्डेन्सी युनिटका लागि ३ अर्ब २५ करोड


काठमाडौं, कात्तिक २६

सरकारले आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ रोकथाम र उपचार व्यवस्थापनका लागि विनियोजित ६ अर्ब बढी रकमबाट हाई डिपेन्डेन्सी युनिट व्यवस्थापनका लागि ३ अर्ब २५ करोड रुपैंयाँ निकासा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विनियोजित रकमबाटै प्रयोगशाला परीक्षण तथा व्यवस्थापनका लागि १ अर्ब १२ करोड ४० लाख छुट्याइएको जनाएको छ।

त्यस्तै संक्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार रकम निकासा गरिएको छ। साथै आइसियू, भेन्टिलेटर र अस्पताल सुदृढिकरणका लागि १ अर्ब २९ करोड ९० लाख छुट्याइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

सरकारले आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ रोकथाम र उपचार व्यवस्थापनका लागि कुल ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रकम विनियोजन गरेको थियो । त्यस्तै अब मन्त्रालयले सूचीकृत गरेको प्रयोगशाला र अस्पतालहरूमा लक्षण देखिएका संक्रमितको निःशुल्क परीक्षण र उपचार हुन्छ । तर कुनै व्यक्तिले बीमा गरेको अवस्थामा संक्रमितको उपचार वा परीक्षण खर्च स्वयंको बीमा रकमबाट खर्च गरिने मन्त्रालयले जनाएको छ।