जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार १८:४७

जिल्लावासीसँग पर्यटनमन्त्री योगेश भट्टराईको अठोट : ढुक्क हुनोस, नेकपालाई फुटन दिइन्न


ताप्लेजुङ, कात्तिक २६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगशकुमार भट्टराईले नेकपालाई इंकित गर्दै समुन्द्रमा छाल आउनु स्वभाविक भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहनुभएका उहाँले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताउनुभएको छ ।

आज गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले ठूलो पार्टीमा सामान्य विवाद जस्तो देखिए पनि कुनै हालतमा नफुट्ने बताउँदै पार्टी जोगाउन दोस्रो पुस्ताका नेता लाग्ने जनाउनुभयो ।

‘नेकपा समुद्र हो, समुद्रमा छाल आउँछ, त्यहीँ बिलाउँछ, छाल आयो भन्दैमा आत्तिनु हुँदैन, ढुक्क हुनोस, नेकपालाई फुटन दिइन्न,’ उहाँले भन्नुभयो । पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुनसमेत मन्त्री भट्टराईले आग्रह गर्नुभयो । उहाँले थप्नुभयो,‘पार्टी जोगाउन आ–आफ्नातर्फबाट त्याग गर्नुहोला, एकता कायम गर्न जनदवाव सिर्जना गर्नुस ।’