जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार २०:४७

निजी क्षेत्रको मनोबल बढाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने अर्थमन्त्री पौडेलको घोषणा, यस्ता छन योजना


काठमाडौं, कात्तिक २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने घोषणा गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग आज भएको भेटबार्तामा अर्थमन्त्री पौडेलले निजी क्षेत्रबिना अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने तथ्य बुझेर आफूले यस्तो गर्न निश्कर्ष लिएको बताउनु भयो ।

अर्थमन्त्री पौडेलले कोरोना भाइरस (कोभिड( १९) ले सिर्जना गरेको चुनौतीलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरोत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजी क्षेत्र बिना सम्भव नभएको बताउनु भयो । अर्थमन्त्री पौडेलका अनुसार अहिलेको प्रतिकूल परिस्थितिका बीच पनि व्यवसाय सुचारु गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकूल परिस्थितिको निर्माण गर्ने भूमिकामा सरकार रहेको छ ।

सरकारले घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयनमा नगएको सम्बन्धमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । उहाँले सरकारले घोषणा गरेको पुनर्कर्जा तथा स्टीमुलस प्याकेज कार्यान्वयनको चरणमा रहेको जानकारी पनि दिनुभयो । भेटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजश्वका दर घटाउन माग गर्नुभयो ।

सरकारले राजश्वका दर घटाउँदा कारोबार बढ्न जाने र कारोबार बढेपछि स्वतः राजस्वको आकारसमेत बढ्ने भएकाले छिटोभन्दा छिटो राजश्वका दर घटाउनुपर्ने उहाँको भनाई थियो ।करका दर उच्च हुँदा कुनै पनि वस्तुको मूल्य बढी हुने भएकाले कतिपय सामानहरूको अवैध आयात हुने गरेको पनि श्रेष्ठको भनाई थियो ।