काठमाडौं, कात्तिक २८
प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षहरूले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकालको टीमले मात्र गर्न सक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि देशव्यापी चुनावी दौरानमा रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई एक नम्बर प्रदेशका जिल्ला तथा नगर अध्यक्षहरूले पूर्ण समर्थन गरेका हुन् ।
निर्वाचन अभियानअन्तर्गत बिहीबार धरान पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र उहाँको टीमका तर्फबाट जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधि तिवारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूलाई स्वागत गर्दै १ नम्बर प्रदेशका १७ भन्दा बढी जिल्ला नगर अध्यक्षहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा उपस्थित नभए पनि मोरङ उद्योग संगठनका अध्यक्ष भिमप्रसाद घिमिरेले ढकाल प्यानललाई विराटनगर विमानस्थलमा स्वागत गर्दै आसन्न निर्वाचनका लागि अग्रिम बधाई तथा शुभकामना दिनुभएको थियो ।
हिजो धरानको भेडेटारमा आयोजित कार्यक्रममा १ नम्बर प्रदेशका अधिकांश जिल्ला तथा नगरअध्यक्षहरूले अहिलेको अवस्थामा ढकाल नेतृत्वको टीमले मात्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान गर्न सक्नेछ भन्दै जिल्ला दौडाहामा रहेको ढकाल प्यानललाई स्वागत तथा जीतको अग्रीम बधाई दिनुभएको थियो । कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षहरूले भन्नुभयो, ‘ढकाल प्यानलसँग हाम्रो मन र एजेण्डा मिलेकाले समर्थन र सहयोग गरेका छौं, तसर्थ उक्त टीमलाई जिताउन हृदयदेखि नै सबैसँग आग्रह गरेका छौं ।’
यसअघि महासंघका धेरै अध्यक्षहरू भएपनि उनीहरूले आफ्नो कार्यकाल बिताएर रिटायर्ड भएर जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वास्ता नगरेको र हालसम्म पूर्व अध्यक्ष चन्डीराज ढकालले मात्रै समस्या समाधानका लागि खटेको भन्दै उनले समर्थन गरेको टीमलाई आफूहरूले जिताउने जिल्ला नगरको अध्यक्षहरूलले प्रतिवद्धता जाहेर गरेका थिए । साथै यसअघिका अध्यक्षहरूले उद्योगी व्यवसायीका समस्या पर्दा फोन समेत नउठाएको गुनासो गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले सहज रूपमा भेट दिँदै जिल्ला नगरका उद्योगी व्यवसायीको समस्या समाधान गर्दै आएकाले आफूहरूमाथि ढकाल प्यानललाई जिताउनु पर्ने दायित्व रहेको बताएका थिए ।
कार्यक्रममा जिल्ला नगरका अध्यक्षहरूले देशको आर्थिक विकास तथा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्दै विदेशी लगानी भित्र्याउनका लागि पनि ढकाल नेतृत्वको टीम आवश्यक रहको बताएका थिए । यसैगरी यस अघिका नेतृत्वबाट जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वेवास्ता गरेको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानलबाट आफ्ना समस्या समाधान हुने आशा पलाएको भन्दै उक्त टीमलाई आगामी निर्वाचनमा जसरी पनि जिताउनुपर्ने उनीहरूको भनाइ रहेको थियो ।
कार्यक्रममा ढकाल प्यानललाई स्वागत गर्दै प्रदेश १ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र रावतले अहिलेको अवस्थामा व्यावसायिक हकहितका लागि ढकाल प्यानलको विकल्प नरहेको बताउनुभयो । ‘अहिलेको अवस्थामा महासंघको साख खस्किएको छ’, उहाँले भन्नुभयो, ‘हामी व्यवसायीको साख उचो बनाउनका लागि पनि सानादेखि ठूलो व्यवसायसम्म सफलरूपमा संचानल गरेर सरकार र दातृ निकायमा समेत राम्रो सम्बन्ध रहेको ढकाल प्यानललाई जिताउनुपर्नेछ ।’
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले महासंघमा शुद्धीकरण र शदृढीकरण नभई कुशल नेतृत्वको आवश्यकता परेको भन्दै जसका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीम आवश्यक रहेको बताउनुभयो । साथै अहिलेको महासंघ नेतृत्वले सरकारसँग लविङ गरेर कोभिडका कारण व्यवसायीलाई परेका समस्या समाधान गर्न नसकेको भन्दै त्यसका लागि पनि यस पटक ढकाल प्यानललाई नेतृत्वमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर १ बाट खोटाङका अध्यक्ष विपिन राई, धनकुटाका अध्यक्ष बिजय सन्तोषी राई, उदयपुरका अध्यक्ष पुष्कर खड्का, भोजपुरका अध्यक्ष धु्रबलाल श्रेष्ठ, सुनसरीका अध्यक्ष गिरीधारी सापकोटा, इटहरीका अध्यक्ष भीमप्रसाद पौडेल, दकमका अध्यक्ष गोकुल श्रेष्ठ, झापाका अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष राजु पनेरु, ताप्लेजुङका अध्यक्ष ताराप्रसाद घिमिरे, इलामका अध्यक्ष ईश्वर चिपालु, उर्लाबारीका अध्यक्ष प्रितम खड्की, मेचीका अध्यक्ष ऋषी तिमिल्सिना, विर्तामोडका अध्यक्ष कुमार पोखरेलले कार्यक्रममा उपस्थित भएर आफूहरूको पूर्ण समर्थन रहेको भन्दै जीतको अग्रीम शुभकामना दिनुभएको थियो भने मोरङ उद्योग संगठनका अध्यक्ष भीमप्रसाद घिमिरे विमानस्थलमा स्वागत गर्न पुग्नुभएको थियो ।
कार्यक्रममा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी ६ वर्षका लागि भएको भन्दै अहिलेको अवस्थामा सही व्यक्ति छनौट गर्न नसकेमा जिल्ला नगरका समस्या मात्रै नभई समग्र निजी क्षेत्रका लागि चुनौती थपिने बताउनुभयो । अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफू र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउँदै आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताउनुभयो ।
‘अहिले सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले महासंघको साख खस्कियो, सरकारी निकायमा प्रतिनिधित्व भएन भन्ने गुनासो गर्नु भएको छ ती कुरा आफु नेतृत्वमा पुगेपछि महासंघको पुरोना साख फर्काउँदै प्रतिनिधित्व गराउनेछ,’ उहाँले भन्नुभयो, ‘साथै नेतृत्वमा पुगेका व्यक्तिले उद्योगी व्यवसायीले समस्या परेर फोन गर्दा नउठाउने तथा समस्या समाधान गर्दा पहल गर्दैन भने त्यो जस्तो निकम्मा नेतृत्व अरु कुनै हुन सक्दैन ।’ व्यावसायिक सफलतामार्फत् स्टेक होल्डरको रूपमा स्थापित व्यक्तिले मात्रै व्यवसायीको वास्तविक रूपमा नेतृत्व गर्न सक्ने भन्दै त्यसको लागि आफू तयार रहेको पनि ढकालले बताउनुभयो ।
‘जसले व्यवसाय गरेको छ, जसले व्यावसायीक समस्यासँग जुधेको छ उसले मात्रै हामी व्यवसायीका समस्या सरकारसमक्ष राख्न सक्छ र समस्या समाधान गर्न पहल गर्नेछ,’ उहाँले भन्नुभयो । कार्यक्रममा उहाँले आफुले ७ वटै प्रदेशका पर्यटन व्यवसाय विस्तारका लागि परियोजनाहरू अघि बढाएको जानकारी दिँदै आआफ्ना क्षेत्रका त्यस्ता सम्भावनाका क्षेत्र भएका प्रस्ताव ल्याउन आग्रह गर्नुभएको थियो । साथै त्यस्ता कार्यक्रममा केन्द्र र स्थानीय उद्योगी व्यवसायीको सहकार्यमा अघि बढाउन आफुहरू तयार रहेको उहाँको भनाइ थियो ।
यसैगरी महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार, जिल्ला तथा नगरका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी, वस्तुगत उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ र एशोसिएट्सतर्फका उपाध्यक्षमा रामचन्द्र संघई गरेर समावेशी टीम निर्माण गरेको जानकारी दिँदै विभिन्न क्षेत्रबाट केन्द्रिय सदस्यमा पनि समावेशी रूपमा सबै समेटेर अघि बढ्ने बताउनुभयो ।
‘चुनावी अभियानमा सूदुरपश्चिमदेखि पूर्बसम्म आईपुग्दा साथीहरूको उपस्थितीले चन्द्र ढकाल टीमको जीत सुनिश्चित भैरहेको छ भने धेरै उत्साह प्रदान गरेको छ’, उहाँले भन्नुभयो, ‘अबका दिनमा जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान गर्न सधैँ झक्झक्याइरहने छु ।’ चन्द्र ढकालको देशभर विभिन्न खालका उद्योग व्यवसाय फैलिएको भन्दै चुनाव पश्चात पनि स्थानीय व्यवसायीसँगै सहकार्य गरेर अघि बढ्ने उहाँको भनाइ थियो । साथै ढकाल नेतृत्वको टीमले स्थानीय उद्योगी व्यवसायीका समस्या समाधान तथा व्यापार व्यवसायका लागि पुलको काम गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला नगरतर्फका उम्मेदवार गुणनिधी तिवारीले ढकाल नेतृत्वको आफ्नो प्यानल बिजयी भएसँगै जिल्ला नगरका समस्या समाधानका लागि महासंघमा जिल्ला नगरको छुट्टै परिषद् गठन गरेर तत्काल समस्या सम्बोधन गरिने बताउनुभयो । ‘हामी जिल्ला नगरका उद्योगी व्यवसायीका लागि महासंघको विधानले ५० प्रतिशत हिस्सा दिएको छ तर त्यहि अनुरूप प्रतिनिधित्व हुन सकिरहेको छैन भने अधिकार पनि पाएका छैनौ’, उहाँले भन्नुभयो, ‘यदि अहिले पनि हामीले जिल्ला नगरलाई समेटेको ढकाल प्यानलको समावेशी टीमलाई जिताउनबाट चुक्यौ भने हाम्रा समस्या कहिले पनि समाधान हुने छैन ।’
साथै यसअघि आफुहरूले आफ्ना समस्या नबुझेका व्यक्तिलाई जिताएर पठाएकाले फोन नउठाउने, समस्या पर्दा दायित्वबाट पन्छिने गरेको जानकारी दिँदै अबका दिनमा व्यवसायीका वास्तविक नेतृत्वलाई जिताउन आग्रह गरेका छन् । कार्यक्रममा देशभरबाट ५२ भन्दाबढी जिल्ला नगरका अध्यक्षहरू उपस्थित भएर ढकाल प्यानललाई जिताउन लागिपर्ने बचनबद्धता जाहेर गरेका थिए । साथै अन्य जिल्लामा प्रत्यक्षरूपमा उपस्थित हुन नसक्ने अध्यक्षहरूले पनि आफ्नो प्रतिनिधि पठाएर ढकाल प्यानलको समर्थन गर्दै जीतको अग्रिम शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्