जनता टाइम्स

३० कार्तिक २०७७, आईतवार १२:०८

भार प्रेषण केन्द्रबाटै प्राधिकरणका कार्यकारी निर्देशक भन्नुहुन्छ : लोडसेडिङ हुन्छ भन्ने चिन्ता नलिनुहोस्


काठमाडौँ, कात्तिक ३०

नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताउनु भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगै शनिवार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिनु भएका शाक्यले यस्तो बताउनु भएको हो ।

‘लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुने र त्यो समयमा विद्युत माग पनि अत्याधिक हुने भएकाले त्यसको व्यवस्थापनका लागि भार प्रेषण केन्द्रको कन्ट्रोल रुममै रहेर हाम्रो टीम व्यवस्थापनमा खट्यो,’ शाक्यले भन्नुभयो, ‘हामीले पीक आवरमा बढीमा ११ सय ५० मेगावाटसम्म विद्युत खपत हुने अपेक्षा गरेका थियौँ । तर, करिब ११ सयको वरीपरी मात्रै खपत भयो । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गतको लक्ष्मी पूजाका दिन पनि कतैबाट गुनासो आएन सबैले झिलीमिली बत्ती बाल्ने वातावरण निर्माण भयो । हामी खुशी छौँ ।’

उहाँले अघिल्लो वर्ष पीक आवरमा ११ सय २८ मेगावाट विद्युतको माग भएको भन्दै त्यसैको आधारमा बढीमा ११ सय ५० मेगावाटसम्म खपत हुने अपेक्षा गरेको जानकारी दिनुभयो । ‘अघिल्लो वर्ष लक्ष्मीपुजाको साँझ पीक आवरमा ११ सय २८ मेगावाट विद्युत माग भएको थियो हामीले त्यसैलाई आधार मानेर ११ सय १० देखि ५० सम्मको अपेक्षासहित थप २ सय मेगावाट रिजर्भमा राखेका थियौँ,’ उहाँले भन्नुभयो, ‘त्यसैको व्यवस्थापनका लागि शुक्रबार म मध्यरातसम्म भार प्रेषण केन्द्रमै खटेको थिएँ । शनिवार मैले मुलुक भरका स्टेशन प्रमुखसँग सम्पर्क गरी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थिएँ । शनिवार नै पाटनको सवस्टेशनमा आफैँ पुगी अनुगमन गरेँ । यी सबै कारणले लक्ष्मी पुजाका दिन लोडसेडिङ हुन्न भन्नेमा हामी ढुक्क थियौँ ।’

उहाँले आगामी दिनमा पनि अब लोडसेडिङको समस्या नहुने दाबी गर्नुभयो । प्राविधिक कारणले फिडर, ट्रान्सफर्रमरलगायतमा भएको समस्यालाई तत्काल समाधान गर्न सकिने बाहेक अरु समस्या नहुने उहाँले बताउनुभयो । ‘त्यसका लागि हामीले ‘नो लाईट’ टीमलाई तयारी अवस्थामा राखेका छौँ । त्यो टिम तत्काल परिचालन गरी समस्या समाधान गर्न सक्छौँ,’ उहाँले भन्नुभयो, ‘अब मेरो ध्यान क्वालिटी, सर्भिस र विद्युत महसुल घटाउनेमा केन्द्रित हुने छ । राष्ट्रिय विद्युत् प्रसारणलाइन (ट्रान्समिसनलाइन) निर्माण पनि मेरो प्राथमिकतामा छ ।’

उहाँले आफुले पाएको जिम्मेवारीलाई अवसरसँगै चुनौतिका रुपमा समेत ग्रहण गरेर अघि बढ्ने बताउनुभयो । ‘अहिलेको चुनौति भनेकै गुणस्तर बढाउने हो,’ उहाँले भन्नुभयो, ‘केही समय हामीले अझै व्यवस्थापनका लागि दुःख गर्नुपर्छ । त्यसपछि विस्तारै हामी विद्युतमा आत्मनिर्भर हुन्छौँ ।’

मन्त्री पुनले पनि धेरै मेहनत गरेर नयाँ कार्यकारी निर्देशक र भार प्रेषण केन्द्रका कर्मचारीले तिहारको लोड व्यवस्थापन गर्न सफल भएको भन्दै धन्यवाद दिनुयभो । भार प्रेषण केन्द्रका प्रमुख प्रणाली सञ्चालन विभागका प्रमुख सुरेशबहादुर भट्टराईले पनि दिपावलीको लक्ष्मीपुजाका लागि हरेक वर्ष योजना बनाउँदै आएको भन्दै यो वर्ष पनि १३ सय २० मेगावाट विद्युत रिजर्भ राखेको बताउनुभयो ।

‘एनइएको ५ सय २०, आइपीपी ४ सय ६० डीएम इम्पोर्टबाट ५०, टनकपुरबाट ३०, कटैयाबाट ६० मेगावाट इम्पोर्ट गरेर व्यवस्थापन तयारी गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘यो भन्दा २ सय बढी लोड आएको भए पनि हामी सजिलै व्यवस्थापन गर्न सक्ने अवस्थामा थियौँ । हामीसँग सप्लाई जति धेरै थियो त्यो अनुसारको डिमाण्ड आएन । जसका कारण हामी सजिलै व्यवस्थापन गर्न सफल भयौँ ।’ उहाँले अरु बेला पनि प्रणालीमा १४ देखि १५ सय मेगावाटसम्म माग भयो भने सजिलै व्यवस्थापन गर्न सकिने अवस्थामा रहेको जानकारी दिनुभयो ।